सोमबार, चैत २, २०८२

राणकालीन पुस्तकालयमा अब ‘बाल पुस्तकालय’

मेरोन्यूज २०८१ माघ २२ गते १३:११

गलकोट (बागलुङ)। बागलुङको बालमन्दिरमा रहेको राणाकालीन सामुदायिक पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापना गरिने भएको छ । विसं २००३ मा स्थापित उक्त पुस्तकालयमा बालबालिकाका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बाल पुस्तकालय सञ्चालनका लागि अभियानबाट सङ्कलित पाँच लाख खर्चेर बाल पुस्तकालय स्थापना गरिएको पुस्तकालयका अध्यक्ष राम थापाले जानकारी दिए ।

पुस्तकालय स्थापनको दिन पारेर सल्लाहकार परिषद् सदस्य एवं पूर्वअध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले छोरी आराजु श्रेष्ठको स्मृतिमा ५५ हजार ५५५, पुस्तकालयका आजीवन सदस्य बागलुङ नगरपालिका–३ गुठी निवासी गगन पुनले बुबा टीकाराम पुनको स्मृतिमा ५० हजार र कालिका भगवती गुठीका उपाध्यक्ष निशान खड्काले २५ हजार सहयोग गरेको थियो ।

सूचना–प्रविधिका उपकरण, बाल साहित्यका पुस्तक, रङरोगन र साजसज्जाका लागि विभिन्न सामग्री राखेर बाल पुस्तकालय स्थापना गरिएको छ । राणाकालको प्रतिकूल समयमा स्थापना भएका कारण पनि विद्यामन्दिर पुस्तकालयको छुट्टै महत्व छ । धौलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा यस पुस्तकालयलाई लिने गरिन्छ ।

स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक संग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले हस्तलिखितसहित विभिन्न विधाका गरी करिब १८ हजार पुस्तक छन् । पुस्तकालयमा विसं २०७२ देखि विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ ।

प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा सञ्चालित पुस्ताकालयले अहिले सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । पुस्तकालयका संस्थापक दिवंगत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुन् ।

प्रतिक्रिया