शनिबार, फागुन ३०, २०८२

बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग

मेरोन्यूज २०८१ माघ २४ गते २१:५०

मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सभा सदस्यहरूले बाढीपीडित परिवारलाई पुनः बसोबास गर्नुपर्ने र भौतिक पूर्वाधार विकासको संरचनाका लागि प्रदेश सरकारले तत्काल बजेट विनियोजित भएअनुसार कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश सभा बैठकको विशेष समयमा सदस्यहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा तत्काल  गर्नुपर्ने काम/कारबाही र बजेट अपुगका बारेमा धारणा राखेका थिए । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सदस्यहरूले आ-आफ्नो निर्वाचन क्षेत्रका लागि अत्यावश्यक योजनाहरूमा क्रमशः खानेपानी, सडक निर्माण, बाढी पहिरोबाट पीडितलाई पुनः बसोबास गर्न र विपद् आइपर्नुभन्दा अगाडि प्रदेश सरकार पूर्ण तयारीका साथ रहनुपर्ने माग गरे। उनीहरूले जनताको चाहना असीमित रहेको छ, तर प्रदेश सरकारको बजेट अत्यन्तै कम भएको हुँदा ती क्षेत्रको योजनालाई पुनः समीक्षा गरेर क्रमशः बजेट वृद्धि गर्दै लैजान सरकारलाई दृढताका साथ अघि बढ्नुपर्ने माग गरे । 

यसैगरी, प्रत्येक निर्वाचन क्षेत्रमा खानेपानीको साथै स्वास्थ्य उपचारलाई उच्च प्राथमिकता दिनुपर्ने र शिक्षालाई गुणात्मक स्तर वृद्धि गर्न प्रत्येक वडामा मावि, निमावि र प्राविमा शिक्षक दरबन्दी उपलब्ध गराउनेतर्फ उनीहरुको जोड थियो । विभिन्न जिल्लामा वन्यजन्तुबाट धनजनको क्षति र पीडित परिवारलाई राहात उपलब्ध गराउनुपर्ने, बाढी नियन्त्रण गर्न तटबन्ध निर्माणलगायतका योजना बनाउन प्रदेशसभा सदस्यहरूले माग गरेका छन् ।

प्रतिक्रिया