शनिबार, चैत ९, २०८१

बैंकरहरूले भने- निक्षेप सुरक्षित छ, सामाजिक सञ्जालका भ्रामक अभिव्यक्तिमा ध्यान नदिनू

मेरोन्यूज २०८१ माघ २५ गते १३:१६

काठमाडौं। बैंकरहरूले सामाजिक सञ्जालमा आइरहेका बैंक तथा वित्तीय संस्थाहरूबारे भ्रामक र गलत अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

शुक्रबार नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति निकाल्दै बैंकहरुको निक्षेप सुरक्षित रहेको स्पष्ट पारेका छन् ।

‘बैंकिङ्ग क्षेत्र क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षण गरिएको बैंकरहरूले स्मरण गराएका छन् ।

विज्ञप्तिमा भनिएकाे छ ‘सामाजिक सञ्जालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा कुनै ध्यान दिनु हुन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचनारसमाचारहरूलाई मात्र आधिकारिक रूपमा लिनुहुन अनुरोध गर्दछौं,’ ।

आम-सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरूलाई कानूनको दायरामा ल्याई आवश्यक कारबाही गर्न बैंक तथा वित्तीय क्षेत्र माग गरिएको छ ।

प्रतिक्रिया