कञ्चनजङ्घा आरोहणको ७० वर्षः ‘हीरक महोत्सव’ हुने

ताप्लेजुङ। कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा प्याटिनम जुब्ली’ २०८२ महोत्सव हुने भएको छ । आगामी २०८२ साल वैशाख ५–७ गते फक्ताङलुङ गाउँपालिका–५, लेलेपमा महोत्सव हुने भएको हो । महोत्सवका लागि विशेष ‘लोगो’ र नारा सार्वजनिक गरिएको छ ।
सोमबार महोत्सव संयोजन समितिले ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र, प्रकृतिको उपहार; संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ नारासहितको लोगो सार्वजनिक गरेको छ । लोगो सार्वजनिक गर्दै कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा, समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालयसहित विभिन्न सङ्घ–संस्थाको सहकार्यमा गरिने जनाइएको छ ।
परिषद्का सदस्य सचिव मनकुमार राईका अनुसार कोशी प्रदेश सरकारसँग आर्थिक तथा कार्यक्रमगत साझेदारीका लागि छलफल भइरहेको छ । महोत्सवमा कञ्चनजङ्घा क्षेत्रमा रहेका पर्यटकीय सम्पदाको प्रचारप्रसार, पदयात्रा प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवर्द्धनजस्ता गतिविधि समेटिने छन् । भलिबल प्रतियोगितासमेत आयोजना गरिने जनाइएको छ ।
कञ्चनजङ्घा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूको परिवार तथा अन्य आरोहणकर्तालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ । महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौंमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना गरिने भएको छ । कञ्चनजङ्घा, विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर (८,५८६ मिटर) हो । सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गर्नुभएको थियो ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया