शुक्रबार, फागुन २९, २०८२

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार

मेरोन्यूज २०८१ फागुन ३ गते २०:३९

पर्सा – देशकै पहिलो रेल सुविधा सम्पन्न वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयले माघमा लक्ष्यको ९३ प्रतिशत सङ्कलन गर्न सफल भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कोरोना महामारी र सोपाछि आएको वैश्विक आर्थिक मन्दीका कारण उद्योग व्यापारमा देखिएको सङ्कुचनले गर्दा राजस्व सङ्कलन घट्दै गएकामा पछिल्ला केही महिनादेखि क्रमिक सुधार हुँदैछ ।

साउन महिनाका लागि भन्सार विभागले रु चार अर्ब ७३ करोड ३१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकामा कार्यालयले रु तीन अर्ब ७५ करोड २२ लाख सङ्कलन गरेको थियो भने माघका लागि रु चार अर्ब ६२ करोड ४८ लाख लक्ष्य तोकिएकामा कार्यालयले रु चार अर्ब २९ करोड ९२ लाख सङ्कलन गरेको कार्यालयका प्रमुख धनबहादुर बरुवालले जानकारी दिए ।

उनले लामो समयदेखि औद्योगिक कच्चा पर्दाथको न्यून आयात हुँदै आएकामा पछिल्लो केही महिनादेखि सुधार हुँदै गएकाले राजस्व सङ्कलनमा पनि सुधार देखिएको बताए ।

बारा पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित फलाम उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयात बढेकाले आउने दिनमा राजस्व सङ्कलनमा थप सुधार हुने अपेक्षा गरिएको कार्यालय प्रमुख बरुवालको भनाइ छ । उनले औद्योगिक कच्चा पदार्थको आयातमा क्रमिक सुधार देखिए पनि मदिरा र बिलासी उपभोग्य वस्तुको आयातमा खासै सुधार नभएको बताए ।

समग्रमा चालु आर्थिक वर्षका सात महिनामा लक्ष्यको ८२ प्रतिशत र वार्षिक लक्ष्यको ४६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ । विभागले कार्यालयका लागि सात महिनामा कुल रु ३३ अर्ब ६९ करोड ७१ लाख राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । वर्षभरिका लागि भने रु ६० अर्ब चार करोड ८७ लाख लक्ष्य दिएको छ ।

प्रतिक्रिया