बुधवार नवौँ निर्वाचन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा बुधवार नवौँ निर्वाचन दिवस मनाइँदै छ । मुलुकमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो ।
संवैधानिक अंगका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा गराउँदै आएको छ । आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचन सम्पन्न गरिसकेको छ ।
उक्त निर्वाचनमार्फत जनप्रतिनिधि निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक सङ्घीय शासन प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको छ । इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अङ्गीकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानुन बमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व पूरा गर्दै आइरहेको छ ।
यस वर्ष ‘निर्वाचनको प्रभावकारिता : आम नागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ आयोगले बुधवार कान्तिपथस्थित आयोग परिसरमा मूल समारोह आयोजना गर्दै छ । दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक एवम् कानुनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रमुख आयुक्त थपलियाले असल अन्तर्राष्ट्रिय अभ्यासको समेत अनुसरण गर्दै नेपालको वर्तमान निर्वाचन प्रणाली र प्रक्रियालाई थप प्रभावकारी बनाउन कृत संकल्पित रहेको स्पष्ट पारे । उनले भने, “चौथो पञ्चवर्षीय रणनीतिक योजना, निर्वाचनमा नागरिक संलग्नता नीति, निर्वाचन व्यवस्थापनका लागि सञ्चार नीति, निर्वाचन तथा मतदाता शिक्षा नीति एवं स्थानीय तहबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधिबमोजिम आयोग आगामी दिनमा अघि बढ्नेछ ।”
प्रमुख आयुक्त थपलियाले निर्वाचन सम्पन्न गराउन राजनीतिक नेतृत्व, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, गैरसरकारी एवं निजी क्षेत्र, नेपालस्थित कूटनीतिक नियोग, पर्यवेक्षकलगायत निर्वाचनका क्षेत्रमा क्रियाशील निकाय एवं व्यक्ति, सञ्चार जगत र आम नागरिकप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।
आयोगले निर्वाचनमा आम नागरिकको सहभागिता अभिवृद्धि गर्न स्थानीय तहसँगको सहकार्यमा मतदाताको घर आँगनसम्म नै निर्वाचन तथा मतदाता शिक्षाका कार्यलाई सघन र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।
सरोकारवालाबाट प्राप्त सहयोग, शुभेच्छा र सद्भावले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन व्यवस्थापन गर्ने आयोगको संवैधानिक जिम्मेवारी अझै सशक्त, व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा निर्वाह गर्न हौसला र प्रेरणा प्राप्त भएको आयोगको भनाइ छ ।


















लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया