एउटै वडामा तीन जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका– ४ मुदीमा तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका हुन् ।
ऊर्जा डेभलपर्स प्रालि अन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी– १ जलविद्युत् आयोजनाले पूर्वाधार सुरू गरेको छ भने हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ ।
त्यसैगरी हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरुङ निर्माणको तयारी गरेको छ । म्याग्दी नदीसँगै यसका सहायक गुर्जाखोला र मुदी खोलामा विभिन्न आठ वटा जलविद्युत् आयोजना दर्ता भएकोमध्ये तीन वटा आयोजनाको निर्माण काम अघि बढेको धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
मुदीको खाम्लामा बाँध र मालिका गाउँपालिका– ७ भारवाङमा विद्युतगृह रहने अपर म्याग्दी– १ जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सकेर सुरुङ र बाँधतर्फका पूर्वाधार निर्माण सुरु गरेको छ । २०८१ साल वैशाख २८ गतेदेखि पूर्वाधार निर्माण सुरु गरेको आयोजनाले कूल पाँच किलोमिटर सात सय मिटर सुरूङमध्ये पाँच सय ३० मिटर सुरुङ निर्माण सकिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।उनका अनुसार, दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको बाँध, सुरुङ र विद्युतगृहतर्फ अहिलेसम्म करिब १७ प्रतिशत निर्माण कार्य पूरा भएको छ ।
मुदीकै दोभानमा बाँध र जेल्टुङमा विद्युतगृह रहने ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले विद्युतगृहको पहुँचमार्ग निर्माण गरेको छ । नाउरादेखि ६ किलोमिटर दूरीमा पर्ने जेल्टुङमा विद्युतगृहको लागि पूर्वाधार बनाउने र सुरुङ निर्माणको तयारी गरिएको छ । सुरुङ निर्माण र विद्युतगृहदेखि बाँधतर्फको ११ किलोमिटर सडकको पहुँच विस्तारको काम एकैसाथ अघि बढाउने तयारी गरिएको आयोजना प्रमुख केसीले बताए ।
मुदीमै निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत पहुँच मार्ग निर्माण सकेर सुरुङ निर्माणको तयारी गरेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले जानकारी दिए ।आयोजनाका अनुसार, पहुँचमार्ग, क्याम्प साइटलगायतका पूर्वाधार निर्माण सकिएको र बगर गाउँको पुछारमा रहने बाँध र नाउरामा रहने विद्युतगृहबाट सुरुङ खन्ने तयारी गरिएको छ । जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम बस्तीको रूपमा रहेका खाम्ला, नाउरा, खिबाङ बगरलगायतका बस्तीमा सडकको पहुँच पुगेको छ ।

















अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया