शुक्रबार, फागुन २९, २०८२

नवलपरासीमा व्यावसायिक आलुखेती विस्तार

मेरोन्यूज २०८१ फागुन १० गते १४:२५

मध्यविन्दु (नवलपरासी) । ननवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–२ सेहरीकी सुशीला महतो विगत दुई वर्षदेखि व्यावसायिक आलुखेती गर्न थालेकी छन् । पहिले घरपरिवारका लागि मात्र थोरै जमिनमा आलुखेती गर्दै आएकी महतोले पछिल्ला दुई वर्षदेखि व्यावसायिक रूपमा आलुखेती गरेर राम्रो आम्दानी गर्न थालेकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

आफ्नो घरमा प्रयोग गर्नका लागि मात्र आलु लगाउँदा गर्ने मेहनतकै कारण अहिले व्यावसायिक आलु उत्पादक बन्न सफल भएको महतोले बताइन्। 

‘पहिले घरायसी प्रयोजनका लागि मात्र थोरै जमिनमा आलु लगाउँथ्यौँ’, उनले भनिन्, ‘कृषि ज्ञान केन्द्रबाट तालिम र सहयोग पाउन थालेपछि व्यावसायिक रूपमा धेरै जमिनमा आलु लगाउन थालेका हौँ ।’

सुशीला अहिले आफूमात्रै व्यावसायिक आलु उत्पादक किसान बनेकी छैनन् उनी छिमेकीलाई पनि आलुखेतीमा संलग्न गराई समूह नै निर्माण गर्न सफल भएकी छन् । स्थानीय २३ जना छिमेकीलाई आबद्ध गराई नारायणी कृषक समूह बनाएर कृषि ज्ञान केन्द्रको सहयोगमा सामूहिक आलुखेती गर्दै आएको सुशीलाले बताइन्।

‘कृषि ज्ञान केन्द्रमार्फत ६५ प्रतिशत अनुदानमा हामीले आलुखेती गरेका छौँ’ उनले भनिन्, ‘आलु चिप्स बनाउने उद्योगसँग सम्झौता गरी बिक्री गरिने भएकाले हामीलाई बजार र मूल्यको समस्या भोग्न परेको छैन ।’

मध्यबिन्दु–२ कै रमेश थनेत थारुले पनि बाबुबाजेको पालादेखि गर्दै आएको कृषि पेसालाई अहिले व्यावसायिक बनाएका छन् । सृजनशील कृषक समूहका अध्यक्षसमेत रहेका रमेशको समूहले १७ बिघा जमिनमा आलुखेती गरेको छ । गत वर्ष नौ बिघामा गरिएको सामूहिक आलुखेती यस वर्ष बढाएर १७ बिघामा गरिएको रमेशले बताए। 

‘हाम्रो पुर्खादेखि नै आलुखेती गर्दै आएका थियौँ, तर व्यावसायिक रूपमा पाँच वर्षदेखि मात्र सुरु गरेका हौँ, पहिले स्थानीय बजारका लागि कार्डिनल जातको आलु लगाउने गथ्र्यौं, तर पछिल्ला दुई वर्षदेखि फ्राई सोना जातको आलु लगाउँदै आएका छौँ’ उनले भने,’गत वर्ष रु २५ प्रतिकिलोमा फर्स्ट च्वाइस कम्पनी रुपन्देहीले खरिद गरेको थियो, यस वर्ष आलुको ग्रेडअनुसार रु २३ देखि २६ प्रतिकिलो मूल्य निर्धारण भएको छ ।’

कृषि ज्ञान केन्द्रमार्फत जिल्लामा सञ्चालित आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि समूहलाई सिँचाइ, मल, बीउ, कृषि यन्त्रमा ६५ प्रतिशत अनुदान उपलब्ध भएपछि व्यावसायिक आलुखेती गर्न थप हौसला मिलेको रमेशले बताए।

नवलपरासी९बर्दघाट सुस्तापूर्व०मा सुशीला र रमेशजस्तै कृषि समूहमार्फत व्यावसायिक आलुखेती गर्ने ३८ समूह रहेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रममार्फत रुपन्देहीको फर्स्ट च्वाइस कम्पनीलाई बिक्री गर्नेगरी अग्रिम सम्झौता गरिएपछि कृषक थप आकर्षित भएका हुन् । गत आर्थिक वर्ष आलु प्रवर्द्धन कार्यक्रम राम्रो भएपछि यस वर्ष किसानको आकर्षण झनै बढेको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख कुलप्रसाद तिवारीले बताए। 

“गत वर्ष ३१ समूहमार्फत ९० हेक्टर क्षेत्रफलमा आलुखेती गर्दा एक हजार नौ सय ९२ मेट्रिकटन आलु उत्पादन भएको थियो”, उनले भने “यस वर्ष ३८ कृषि समूहमार्फत एक सय ११ हेक्टरमा आलुखेती गरिएको छ, जसअनुसार २१ हेक्टर क्षेत्रफल विस्तार भएको छ ।” 

गत वर्ष कृषि ज्ञान केन्द्रमार्फत आलुखेती प्रवद्र्धनका लागि तीन करोड ९२ लाख कृषि समूहसँग लागत साझेदारीमा कार्यक्रम गरिएको थियो । यस वर्ष बजेट कटौती भई एक करोड ८४ लाख ३० हजार मात्र विनियोजन भएको छ । गत वर्षभन्दा यस वर्ष बजेट कम हुँदा कृषि समूह धेरै भएपछि अनुदान ७५ प्रतिशतबाट घटाएर ६५ प्रतिशत मात्र प्रदान गरिएको प्रमुख तिवारीले बताए। 

‘बजेट अभावका कारण इच्छुक किसानलाई कार्यक्रममा समेट्न सकिएन, यस वर्ष बजेट कम भएकाले अनुदानमा केही कटौती गर्नुपर्‍यो’, उनले भने, ‘सिँचाइ, मल, बीउ, कृषि औजारमा अनुदान उपलब्ध गराएका छौँ ।’

आलुखेती प्रवर्द्धन कार्यक्रम जिल्लाका कावासोती, देवचुली र मध्यबिन्दु नगरपालिका तथा हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा सञ्चालन गरिएको छ । जिल्लामा उत्पादन हुने आलु चिप्स उत्पादन गर्ने कम्पनीले खरिद गर्नेगरी अग्रिम मूल्य निर्धारण गरेर सहजीकरण गरिएको प्रमुख तिवारीले बताए ।

 यस वर्षका लागि आलुको आकारअनुसार प्रतिकिलो २३ देखि २६ सम्म खरिद गर्ने किसान र कम्पनीबीच सहमति भएको छ ।

प्रतिक्रिया