बिहीबार, वैशाख ३, २०८३

नेपाल-इटाली वाणिज्य तथा उद्योग संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न

मेरोन्यूज २०८१ फागुन १२ गते २२:०३

काठमाडौँ । नेपाल-इटाली वाणिज्य तथा उद्योग संघको ११औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सभाले नेपालमा लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार तथा नेपाल–इटालीबीचको व्यापारिक सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा संघका अध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटालीबीचको राजनीतिक तथा आर्थिक सम्बन्धको यात्रा सन् १९५९ अगस्ट ३१ मा स्थापना भएको स्मरण गर्दै द्विपक्षीय सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गर्न संघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

उनले इटालीले नेपालको आर्थिक विकासमा विशेष योगदान दिँदै आएको उल्लेख गर्दै सन् १९९० मा लोकतन्त्रको स्थापनापछि र २०१५ को भूकम्पपछि इटाली सरकारले पुर्‍याएको सहयोग ऐतिहासिक रहेको उल्लेख गरे।

संघका महासचिव मनोज श्रेष्ठ भाडेलले नेपालका सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनः निर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्त्वपूर्ण रहँदै आएको बताउँदै यो सहकार्य दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे।

साधारण सभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो। संघका संरक्षक राजेश काजी श्रेष्ठ र नेपालका लागि इटालीका मानार्थ वाणिज्य दूत प्रतिभा पाण्डेलाई विशिष्ट सम्मान प्रदान गरिएको थियो। त्यस्तै, अशोक समशेर जबरालाई २०२४ को ‘वर्ष उत्कृष्ट सदस्य’ का रूपमा सम्मान गरिएको थियो।

कार्यक्रममा विशिष्ट मानार्थ सदस्य राजेश काजी श्रेष्ठ, मानार्थ वाणिज्य दूत प्रतिभा पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्ष रूपक राजवंशी, उपाध्यक्ष मनोजकुमार ज्ञवालीसहित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रतिक्रिया