शुक्रबार, फागुन २९, २०८२

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, १४ अर्ब २८ करोडको कारोबार

मेरोन्यूज २०८१ फागुन १९ गते १५:४२

काठमाडौँ। सेयर बजारमा साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आइतबार ७५ अंकले बढेको नेप्से परिसूचकमा सोमबार भने १३ अंकको गिरावट देखिएको हो। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।

Advertisement
nepal life insurencenepal life insurence

नेप्सेका अनुसार परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ को बिन्दुमा कायम भएको हो। यस दिन ३०० कम्पनीको सेयर कारोबार हुँदा १८७ कम्पनीको घटेको छ भने ५१ कम्पनीको बढेको छ। ६ वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ।

सोमबार तीन करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर एक लाख ३९ हजार ५५५ पटक खरिदबिक्री हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँ कारोबार भएको छ। यसअघि आइतबार १४ अर्ब २५ करोड चार लाख ७५ हजार ७३६ बराबरको कारोबार भएको छ।

यस दिनको कारोबारमा लाइफ इन्स्योसेन्स ०.७७, उत्पादन तथा प्रशोधन ०.२५, म्युचुअल फन्ड १.००, निर्जीवन बीमा ०.४६ र अन्य समूहको उपसूचक १.६८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

बैंक १.३५, विकास बैंक ०.८४, वित्त ०.९३, होटल तथा पर्यटन १.८८, जलविद्युत् १.२१, लगानी ०.२४, लघुवित्त ०.८८ र व्यापार समूहको उपसूचक ०.८४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।

यस दिनको कारोबारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको एक अर्ब ३८ करोड ७४ लाख ४७ हजार ९२४ रुपैयाँ बराबरको १२ लाख ९५ हजार ५०६ कित्ता सेयर किनबेच भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा एचआईडीसीएलको १७ लाख ७१ हजार ५५० कित्ता किनबेच भएको छ।

प्रतिक्रिया