आइतबार, चैत १, २०८२

बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर

मेरोन्यूज २०८१ फागुन २० गते ८:१३

गोरखा ।गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि मङ्गलबार निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ । शिविरमा एक सय २० जना समुदायका महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका छन् । जाँच गराएकामध्ये आठ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए।

Advertisement
nepal life insurencenepal life insurence

शिविरमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न ‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) परीक्षण गरिएको हो । भिआइए पोजेटिभ देखिएका आठ महिलाको तत्कालै उपचार सुरु गरेर छ महिनापछि पुनः परीक्षणको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

गाउँपालिकाको आयोजना तथा अष्ट्रेलियन सर्भिकल क्यान्सर फाउण्डेसन र नेपाल क्यान्सर रिलिफ सोसाइटीको प्राविधिक सहयोगमा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको मुखको क्यान्सर जाँच तथा उपचार शिविर सञ्चालन गरिएको हो ।

भिआइए विधिबाट एचपिभी भाइरस पत्ता लाग्ने क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने प्रमुख भट्टले जानकारी दिनुभयो । ग्रामीण भेगका महिलामा पाठेघरको क्यान्सर, पाठेघर खस्ने समस्या बढी देखिने भएकाले समयमा नै समस्या पहिचान तथा न्यूनीकरण गर्न शिविर सञ्चालन गरिएको उनले बताए।

“भिआइए परीक्षणबाट १० वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्दछ”, प्रमुख भट्टले भन्नुभयो, “हामीले औषधि राखेर हेर्छौँ र परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ, पाठेघरको अवस्था पत्ता लागेपछि सोहीअनुसार उपचार गर्न सुरु गरिन्छ ।”

गाउँपालिकाले विशेषज्ञ चिकित्सकको निगरानीमा तालिमप्राप्त भिआइए नर्समार्फत महिलाहरूको पाठेघरको क्यान्सरको ‘स्क्रिनिङ’ गरिएको उहाँले बताउनुभयो ।
–––

प्रतिक्रिया