कोभिडजस्तै कडा लक्षणको मौसमी ‘फ्लु’ देखिँदै, कसरी बच्ने ?

काठमाडौं । काठमाडाैंको वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जिउ आलस्य हुने लक्षण देखियो । दुई हप्ता घरमै आराम गरेर निको भए पनि उनलाई हल्का खोकी अझै लागिरहेको छ ।
भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लु (इन्फ्लुएन्जा) कडा महसुस गरिन् । उनले लामो समयसम्म खोकी लागिरहने समस्या पहिलोपटक भोग्नुपरेको सुनाइन् । ‘खोकी एकदमै लामो समयसम्म लागिरहेको छ । एक हप्ता टाउको उठाउनै सकिनँ । जिउ आलस्य र एकदमै कमजोर भएको छ,’ खड्काले भनिन् ।
उनीहरू मात्रै होइन, यसपटक धेरैजसोले यस्तै समस्याको सामना गर्नुपरेको गुनासो गरिरहेका छन् । छाती तथा दम रोग विशेषज्ञ डा. नवीनकुमार मिश्राले पनि फ्लु लाग्ने सिजन सकिसक्दा पनि लामो लक्षणसहितको फ्लु देखापरिरहेको बताए । सामान्यतयाः नेपालमा जनवरी–मार्च महिना र जुलाई–सेप्टेम्बर महिनामा फ्लु बढी देखिने भए पनि यसपटक निकै लम्बिएको उनले सुनाए ।
डा. मिश्राका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक सातामा आफैँ हराएर जाने तर केहीलाई भने जटिल समस्या निम्त्याउन सक्छ । मौसम परिवर्तन भएसँगै फ्लुका बिरामी देखिन थालेका छन् । धेरैमा कडा लक्षण देखिएको छ । विशेष गरी लामो समयसम्म खोकी लाग्ने समस्या देखिएको छ । यसमा अचानक ज्वरो आउनु, सुक्खा खोकी लाग्नु, टाउको दुख्नु, मांसपेशी दुख्नु, अस्वस्थ महसुस हुनु, घाँटी दुख्नु, नाकमा सिँगान बग्नु आदि लक्षण देखा पर्न सक्छन् । फ्लुमा खोकी गम्भीर हुन सक्छ र दुई हप्ता वा सोभन्दा बढी पनि रहन सक्छ ।
यसले श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गराउने भएकाले पीडितलाई भाइरल वा ब्याक्टेरियल निमोनिया (फोक्सोको सङ्क्रमण)सँगै अन्य सङ्क्रमणको खतरासमेत हुने सम्भावना सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक उनले हाल धेरैले लामो समयसम्म खोकी लागिराख्ने समस्या लिएर आउने बिरामी बढिरहेको बताए । पुनले भने, ‘फ्लुले धेरै लामो समयसम्म दुःख दिने गर्छ । सामान्यतयाः हप्ता वा १० दिनसम्म निको हुने फ्लु हाल थप केही हप्तासम्म लम्बिएको देखिन्छ । हप्तौँसम्म लम्बिने खोकीलाई ‘पोस्ट भाइरल कफ’ भनिन्छ ।’
उनले कोभिडमा देखिएको गन्ध र स्वाद थाहा नपाउने लक्षण यो फ्लुमा पनि देखिएको भन्दै कोभिडका ‘सव–भेरियन्ट’ पनि हुनसक्ने आकलन गर्न सकिने बताए । सङ्क्रामक रोग विशेषज्ञ डा. पुनले मौसम परिवर्तन र वायु प्रदूषणले पनि फ्लुको जोखिम बढाएको बताए ।
‘हाल हङकङ फ्लु देखिएको छ । जोखिम वर्गमा पर्ने बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी बढी जोखिममा हुन्छन् । चिकित्सकको परामर्शमा रहने र गम्भीर अवस्था देखिएमा निमोनिया हुन सक्ने भएकाले थप सतर्कता अपाउन आवश्यक छ,’ उनले भने, ‘मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सङ्क्रमित व्यक्तिबाट सजग रहने, सङ्क्रमण देखिएमा पर्याप्त मात्रामा आराम गर्ने गर्नुपर्छ । फ्लुविरुद्ध खोप लगाउनु राम्रो हुन्छ ।’
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारीमा भने ‘ए’ र ‘बी’ भाइरस बढी फैलिने गरेका छन् । डब्लूएचओका अनुसार विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका कारण ३० लाखदेखि ५० लाख ‘केस’ पहिचान हुने गरेका छन् । तीमध्ये दुई लाख ९० हजारदेखि ६ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासमा जटिलता आएर मृत्यु हुने तथ्याङ्कले देखाउँछन् ।
प्रतिक्रिया