महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छः सभापति देउवा

पाटन (ललितपुर) । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताएका छन्। ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपाली महिलाको आह्वानः समानता र सशक्तीकरणको अभियान’ विषयक छलफल कार्यक्रममा सभापति देउवाले नेपालमा अधिकारका माध्यमबाट महिलाको उत्थान र अधिकार मात्रै हैन जिम्मेवारी दिने सवालमा पनि विश्वका अरू देशभन्दा अग्रगामी रहेको जिकिर गरे।
“हरेक पालिकामा मात्रै हैन राज्यको हरेक निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने व्यवस्था गरिएको छ। यहाँ महिलाहरूले देशकै नेतृत्व गरेको अवस्था छ, अन्य कुनै देशले नेपालले जति अधिकार दिएको छैन,” सभापति देउवाले भने,“अब थप अधिकार, समानता र सशक्तीकरणका पक्षमा सबै मिलेर नेतृत्वदायी भूमिकामा अग्रसर हुुने विश्वास लिएको छु।”
पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बनाइएका कानुन कार्यान्वयन गर्दै राज्य र पार्टीका हरेक तहमा महिलाको निर्णायक सहभागिता सुनिश्चित गर्न लाग्नुपर्नेमा जोड दिइन्। उनले क्षेत्रगत रूपमा विभाजन नभई समग्रतामा केन्द्रित भएर निर्णायक तहमा पुग्न ध्यान दिनुपर्ने बताइन्। पार्टी सभापति देउवा प्रधानमन्त्री हुँदा महिला, दलित र सीमान्तकृत समुदायको हक अधिकार स्थापित गर्नका लागि उल्लेख्य काम भएको उनको भनाइ थियो।
कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको टोल र वडा तह तथा सामाजिक क्षेत्रका हरेक ठाउँमा महिलाको सहभागितालाई जोड दिनुपर्ने बताए। महिलालाई आयमूलक काममा सहभागी गराउँदै शिक्षा र स्वास्थ्यमा सशक्त भूमिकामा स्थापित गर्नुपर्ने धारणा राख्दै उनले पार्टीले त्यसका लागि थप भूमिका खेल्नुपर्ने धारणा राखे।
कांग्रेस केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अधिकार, समानता र सशक्तीकरणमा नेपालमा धेरै काम भए पनि अझै पर्याप्त नभएको बताइन्। “महिलाका कतिपय अधिकार स्थापित भए पनि अझै तिनको उपयोग गर्न सकिएको छैन, हामीले आफूलाई सक्षम बनाउन सकेका छौँ कि छैनौँ भनेर पनि ध्यान दिनुपर्छ”, उनले भनिन्,“म महिला हैन नेता भएकाले यो स्थानमा पुगेको छु, हरेक महिलाले आफूलाई पुरुषभन्दा कम नसोच्न मेरो आग्रह छ। समाज, समुदाय र देशमा अधिकार कसैले दिएर हुने कुरा हैन, आफूले पनि सशक्त भएर आउनुपर्छ।”
कांग्रेसको सूचना तथा सञ्चार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरराष्ट्रिय महिला दिवस मनाइरहँदा प्राप्त उपलब्धिको मूल्याङ्कन गर्दै थप अधिकारका लागि लाग्नुपर्नेमा जोड दिए। “नेपाली कांग्रेस स्थापना हुनुभन्दा अगाडि नै महिला सङ्घको स्थापना भएको थियोे, अब महिलाहरूको हितमा प्राप्त भएको उपलब्धिका आधारमा सकारात्मक काम गर्दै परिवर्तनका लागि क्रियाशील हुनुपर्ने छ। भविष्यको कुरा देखाएर भावनामा बहकिएर महिला अधिकार, समानता र सशक्तीकरणमा काम हुन सक्दैन। यसर्थ यथार्थताको धरातलमा आधारित रहेर काम गर्नुपर्ने आवश्यकता छ”, उनको भनाइ थियो।
कांग्रेस महिला विभाग प्रमुख एवं पार्टी केन्द्रीय सदस्य पुष्पा भुसालले महिला अधिकार र समानताका कुरा उठाउने मात्रै नभई कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिइन्। उनले कांग्रेसले मजदुर र श्रमिकहरूको पक्षमा वकालत गर्दै नीतिगत तहमा आवश्यक व्यवस्थापनका लागि काम गर्नुपर्नेमा धारणा राखिन्। “पितृसत्तात्मक सोचका कारण महिलाहरू हिंसामा परेको अवस्था छ। देशका ४२ वटा कानुन अझै पनि महिलामैत्री छैनन्। पचास प्रतिशतभन्दा बढी श्रम शक्ति महिलामै छ, त्यसैले अधिकार र समानताको मुद्दा महिलाहरुको मात्रै नभई पुरुषहरूको पनि हो। यसमा सबै एकताबद्ध भएर लाग्नुपर्छ”, भुसालले भनिन्।
प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीले महिलाका पक्षमा गरेका काम उजागर गर्दै महिलामैत्री नीति निर्माण र समृद्धि हासिल गर्न क्रियाशील हुनुपर्ने धारणा राख्नुुभयो। उनले सबैले कर्तव्य पालना गर्दै समानताको अधिकार खोज्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोल, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष राधिका कुँइकेल, महिला सङ्घ ललितपुरकी सभापति एव ललितपुर महानगर पूर्वउपप्रमुख गीता सत्याललगायतले मन्तव्य राखेका थिए।
















आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया