आइतबार, चैत १, २०८२

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

मेरोन्यूज २०८१ चैत ३ गते ११:०१

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

रामप्रसाद राई गाउँपालिका- ५ मा पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएको हो ।डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब १५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताए ।

मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिया बस्ती खालीझैँ बनेको उनको भनाइ छ । साबिकको वडा नम्बर ८ र ९ मा पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हाराहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको प्रधानाध्यापक पराजुलीले बताए ।अर्चले गाउँका जम्मा ३५ घरमा अहिले दुई घर, भोर्लेनीका ३३ मध्ये तीन घर, दमाईछाँपमा ८० मध्ये ४० घर र थाक्लेमा २५ घर रहेको बस्तीमा अहिले दुई वटा घरमात्र रहेको उनले जानकारी दिए ।

त्यस्तै गुराँसे, राणागाउँमा ६५ घर रहेकामा अहिले ३५ र मोहोरियामा ८० घरपरिवारमा अहिले ३५ घरपरिवार मात्र बाँकी रहेको शिक्षक पराजुलीले बताए ।

‘स्थानीयले गाउँ छाड्दा मानेभञ्याङका धेरै बस्ती खण्डहर बनेको अवस्था छ’, शिक्षक पराजुलीले भने, ‘मुख्य रूपमा बाँदर र पिउने पानीको समस्याका कारण मानिस अन्यत्र गइरहेका छन् । बाक्लो मानव बस्ती रहेका धेरैवटा गाउँ खण्डहर बनेका छन् ।’

उनले विगतमा आफूले अध्यापन गराइरहेको भानुभक्त प्राथमिक विद्यालयमा तीन सयका हाराहारीमा विद्यार्थी हुने गरेको भए पनि अहिले ५० जना मात्र रहेको बताए ।

‘गाउँघरमा सडक बिजुलीलगायत विकासको क्षेत्रमा काम भइरहेको छ’, उनले भने, ‘मानिस बस्ती छाडेर अन्यत्र गइरहेका छन् । तल्लो भेगका मानिसले बस्ती छाडिदिँदा माथिल्लो भेगमा बाँदरले दुःख दिन थालेको अवस्था छ । यसरी नै बाँदरको उपद्रो  बढ्ने हो भने पूरै गाउँ खाली हुने अवस्था छ । राज्यले किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर नियन्त्रणमा ध्यान दिन आवश्यक छ ।’

बाँदरको समस्याले किसानलाई हैरान बनाएको अर्चलेका स्थानीयवासी जगतकुमार तामाङले बताए । खाली रहेको बस्तीको एक घरमा अहिले ठेक्कामा बस्दै आएको उनले बताए । उनले अर्चलेमा आफूसहित अहिले दुई घर मात्र रहेको बताए । बाहिर गएकाहरूले घरजग्गा बिक्री नगरी त्यत्तिकै छाडिएकाले संरक्षण अभावमा ती घर पनि भत्किन थालेको उनको भनाइ छ ।

सबैले छाडेको बस्तीमा बस्दा जीवन निर्वाह गर्न निकै कठिन रहेको उनले बताए । तामाङले बस्ती खाली भएका कारण बाँदरले झनै दुःख दिने गरेको सुनाए। स्थायी रूपमा बसोबास गर्ने मानिस नै नहुँदा विद्युत् विस्तारमा पनि समस्या भएको उनको भनाइ छ ।

राज्यले बाँदर नियन्त्रणसँगै खाली रहेका बाँझो जमिनलाई प्रयोगमा ल्याउने खालका कार्यक्रम नल्याएको खण्डमा यस्ता धेरै बस्ती खण्डहर बन्ने अवस्था रहेको तामाङले बताए ।

प्रतिक्रिया