एक अर्ब राजस्व उठाउने मालपोत भवन भूकम्पको जोखिममा

चितवन । विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनःनिर्माण हुन सकेको छैन । उक्त जोखिमपूर्ण भवनमा बसेर यहाँका कर्मचारीले वार्षिक एक अर्ब हाराहारीमा राजस्व उठाउँदै आएका छन् ।
बाइपास सडकसँगै छ कठ्ठा जमिनमा रहेको जीर्ण भवनमा टिनमुनी अभिलेख राखिएका छन् । कार्यालयका प्रमुख रमेशप्रसाद गौतमका अनुसार भूकम्पपछि ठाउँठाउँमा चर्किएकाले भवन प्रयोग गर्दा उच्च जोखिम हुने भन्दै रातो स्टिकर टाँसिएको छ ।
विसं २०५२ मा निर्माण गरिएको यो भवनमा ठाउँठाउँमा टिनले छाएर कार्यालयको काम गरिँदै आइएको छ । कार्यालयको नजिकै १७ कठ्ठा जग्गासमेत छ । सोही जग्गामा नयाँ भवन बनाएर पार्किङसहितको कार्यालय बनाउन पटकपटक भूमि व्यवस्था तथा अभिलेख विभागमा पत्र पठाइएको प्रमुख गौतमले बताए । उनले भने “हामीले विभागमा लेखेर पठाएका छौँ । तर हालसम्म नयाँ भवन बन्न सकेको छैन ।”
कार्यालयमा ४२ जना कर्मचारी छन् । यहाँबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु ८७ करोड ७९ लाख ९० हजार राजस्व सङ्कलन भइसकेको प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार यस अवधिमा २१ हजार पाँच सय एक जनाले सेवा लिइसकेका छन् ।
भरतपुर महानगरपालिकाका १९ वटा वडासँगै रत्ननगर र कालिका नगरपालिका एवं इच्छाकामना गाउँपालिकाका नागरिकलाई यहाँबाट सेवा दिने गरिएको छ । गौतमका अनुसार एक वर्षमा एक अर्बभन्दा बढी राजस्व यहाँ सङ्कलन हुन्छ । सङ्कलित राजस्वमध्ये पुँजीकर लाभकरबाहेक ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेशमा जाने गर्दछ ।
उनले भने, “हाम्रा अत्यन्तै महत्वपूर्ण अभिलेख भूइँको टहरो र छतको टहरोमा राख्न बाध्य छौँ ।” पानीले अभिलेख भिज्ने डरसँगै सेवाग्राहीको उच्च चापसँगै जोखिम भवनमा काम गर्नुपर्दा समस्या भएको प्रमुख गौतमले बताए ।
यहाँ आउने सेवाग्राहीले उच्च सवारी चाप भएको सडकको छेउमा पार्किङ गर्न बाध्य छन् । उनले थपे, “नयाँ भवन बनाउन सकेमा पार्किङको समस्या हुँदैन ।” भूकम्पका बेला जोखिममा परेका धेरै भवन पुनःनिर्माण गरिए पनि यस भवनलाई बनाउनेतर्फ सम्बन्धित निकायबाट पहलकदमी नहुँदा सेवाग्राही र सेवाप्रदायक जोखिममा परेका छन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया