सबै घटनाको जिम्मेवार सरकार रहेको राप्रपाको निष्कर्ष
रवीन्द्र मिश्र र धवलशमशेरलाई रिहा गर्न राप्रपाको २४ घण्टे अल्टिमेटम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजोको राजावादी आन्दोलनका क्रममा भएका सबै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने ठहर गरेको छ । आज बसेको कार्यसम्पादन समिति बैठकले सरकारकै कारण हिंसा भड्किएको निष्कर्ष निकालेको हो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले सुनियोजित रुपमा आन्दोलन भाँडेको आरोप लगाए । शान्तिपूर्ण रुपमा सभा भइरहँदा निजी घरको छतबाट अश्रुग्याँस प्रहार गरेपछि स्थिति बिग्रिएको उनको भनाइ छ ।
‘सबै घटनाक्रम हेर्दा सरकारले आन्दोलनमा हिंसा र दमन गर्ने योजनाका साथ सुरक्षाकर्मी परिचालन गरेको देखिन्छ’, उनले भने, ‘सरकार जसरी पनि आन्दोलन विथोल्न र हिंसा भड्काउन चाहन्थ्यो ।’
लिङदेनले पार्टीका जिम्मेवार नेताहरुलाई पक्राउ गरिएको विषयमा पनि विरोध जनाए । पक्राउ परेका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा तोडफोड र आगजनीमा कतै पनि संलग्न नरहेको उनले उल्लेख गरे ।
हिजो मृत्यु भएका दुवैलाई शहीद घोषणा र उचित क्षतिपूर्ति दिन राप्रपाले माग गरेको छ ।
लिङदेनले पत्रकारमाझ राखेको भनाइको सार
हिजो भएका घटनाहरुमा सरकारको संलग्नता र सरकार नै हिंसा भड्काउन उद्यत रहेको भन्ने राप्रपाको निष्कर्ष र ठहर रहेको छ । किनभने प्रधानमन्त्रीले अघिल्लो दिन प्रतिकार गर्न आह्वान गर्नुभयो, बाघेझापु हान्न हौसला दिनुभयो । यसले नै उहाँ हिंसा भड्काउने पक्षमा हुनुहुन्छ भन्ने प्रस्ट हुन्छ । शान्तिपूर्ण रुपमा सभा चलिरहेको मञ्चमा सुनियोजित रुपले निजी घरभित्र पहिल्यै सुरक्षाकर्मी पसेर टियर ग्याँस हानिएको छ । सरकार आन्दोलन विथोल्न र भड्काउन चाहन्थ्यो ।
पत्रकार सुरेश रजकलाई बचाउन सरकारी संयन्त्र नै उदासीन बन्यो । उहाँलाई बचाउन सकिने अवस्था थियो । कतिपय व्यावसायिक भवनमा सुरक्षा दिनसक्ने देखिँदा पनि दिइएन । प्रस्ट रुपमा थुप्रै फुटेजहरु सार्वजनिक भएका छन् । गोली चलाउनै नपर्ने ठाउँमा ताकिताकी गोली हानिएको छ । आफ्नो बचाउ गर्न गोली चलाउनुपर्ने सामान्य नियमभन्दा पर गएर ताकेर गोली हानी हत्या गरिएको छ । यो सबै घटनाक्रम हेर्दा सरकार आफैंले हिंसा र दमन गर्ने योजनाका साथ परिचालन भएको बुझिन्छ । सम्पूर्ण घटनाको जिम्मेवार सरकार हो ।
रवीन्द्र मिश्र र धवलशमशेर राणा पनि आगजनी र तोडफोडमा संलग्न हो भने कारबाही होस्, तर निष्पक्ष छानबिन हुनुपर्यो । उहाँहरु कतै पनि संलग्न हुनुहुन्न । संलग्न नभएको मान्छेलाई पक्राउ गरिएको छ । शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार हो । ‘अघि बढ’ भनेकै आधारमा संलग्न भन्न मिल्दैन । उहाँहरुलाई पक्राउ गरेर ज्यादती गरिएको छ । हामी निन्दा गर्छौं ।
निषेधित क्षेत्र तोडौं भन्ने कुरा त सामान्य हो । विगतमा मैले पनि तोडेको छु । राज्यले छतछतबाट टियरग्याँस हानेपछि उत्पन्न परिस्थितिकै कारण पत्रकार साथीको ज्यान गएको हो । त्यसमाथि डेट एक्सपायर भएको अश्रुग्याँस किन प्रयोग गर्यो सरकारले ?

















छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
शुक्लाफाँटामा बाघ गणना सुरु
नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
लमजुङमा जिपले च्यापेर चालकको मृत्यु
आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्रतिक्रिया