सबै घटनाको जिम्मेवार सरकार रहेको राप्रपाको निष्कर्ष
रवीन्द्र मिश्र र धवलशमशेरलाई रिहा गर्न राप्रपाको २४ घण्टे अल्टिमेटम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजोको राजावादी आन्दोलनका क्रममा भएका सबै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने ठहर गरेको छ । आज बसेको कार्यसम्पादन समिति बैठकले सरकारकै कारण हिंसा भड्किएको निष्कर्ष निकालेको हो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले सुनियोजित रुपमा आन्दोलन भाँडेको आरोप लगाए । शान्तिपूर्ण रुपमा सभा भइरहँदा निजी घरको छतबाट अश्रुग्याँस प्रहार गरेपछि स्थिति बिग्रिएको उनको भनाइ छ ।
‘सबै घटनाक्रम हेर्दा सरकारले आन्दोलनमा हिंसा र दमन गर्ने योजनाका साथ सुरक्षाकर्मी परिचालन गरेको देखिन्छ’, उनले भने, ‘सरकार जसरी पनि आन्दोलन विथोल्न र हिंसा भड्काउन चाहन्थ्यो ।’
लिङदेनले पार्टीका जिम्मेवार नेताहरुलाई पक्राउ गरिएको विषयमा पनि विरोध जनाए । पक्राउ परेका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा तोडफोड र आगजनीमा कतै पनि संलग्न नरहेको उनले उल्लेख गरे ।
हिजो मृत्यु भएका दुवैलाई शहीद घोषणा र उचित क्षतिपूर्ति दिन राप्रपाले माग गरेको छ ।
लिङदेनले पत्रकारमाझ राखेको भनाइको सार
हिजो भएका घटनाहरुमा सरकारको संलग्नता र सरकार नै हिंसा भड्काउन उद्यत रहेको भन्ने राप्रपाको निष्कर्ष र ठहर रहेको छ । किनभने प्रधानमन्त्रीले अघिल्लो दिन प्रतिकार गर्न आह्वान गर्नुभयो, बाघेझापु हान्न हौसला दिनुभयो । यसले नै उहाँ हिंसा भड्काउने पक्षमा हुनुहुन्छ भन्ने प्रस्ट हुन्छ । शान्तिपूर्ण रुपमा सभा चलिरहेको मञ्चमा सुनियोजित रुपले निजी घरभित्र पहिल्यै सुरक्षाकर्मी पसेर टियर ग्याँस हानिएको छ । सरकार आन्दोलन विथोल्न र भड्काउन चाहन्थ्यो ।
पत्रकार सुरेश रजकलाई बचाउन सरकारी संयन्त्र नै उदासीन बन्यो । उहाँलाई बचाउन सकिने अवस्था थियो । कतिपय व्यावसायिक भवनमा सुरक्षा दिनसक्ने देखिँदा पनि दिइएन । प्रस्ट रुपमा थुप्रै फुटेजहरु सार्वजनिक भएका छन् । गोली चलाउनै नपर्ने ठाउँमा ताकिताकी गोली हानिएको छ । आफ्नो बचाउ गर्न गोली चलाउनुपर्ने सामान्य नियमभन्दा पर गएर ताकेर गोली हानी हत्या गरिएको छ । यो सबै घटनाक्रम हेर्दा सरकार आफैंले हिंसा र दमन गर्ने योजनाका साथ परिचालन भएको बुझिन्छ । सम्पूर्ण घटनाको जिम्मेवार सरकार हो ।
रवीन्द्र मिश्र र धवलशमशेर राणा पनि आगजनी र तोडफोडमा संलग्न हो भने कारबाही होस्, तर निष्पक्ष छानबिन हुनुपर्यो । उहाँहरु कतै पनि संलग्न हुनुहुन्न । संलग्न नभएको मान्छेलाई पक्राउ गरिएको छ । शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार हो । ‘अघि बढ’ भनेकै आधारमा संलग्न भन्न मिल्दैन । उहाँहरुलाई पक्राउ गरेर ज्यादती गरिएको छ । हामी निन्दा गर्छौं ।
निषेधित क्षेत्र तोडौं भन्ने कुरा त सामान्य हो । विगतमा मैले पनि तोडेको छु । राज्यले छतछतबाट टियरग्याँस हानेपछि उत्पन्न परिस्थितिकै कारण पत्रकार साथीको ज्यान गएको हो । त्यसमाथि डेट एक्सपायर भएको अश्रुग्याँस किन प्रयोग गर्यो सरकारले ?


प्रतिक्रिया