झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय

नवलपरासी । नवलपरासी(बर्दघाट-सुस्ता पश्चिम) सुस्ता गाउँपालिका-५ पक्लिहवास्थित नरायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय स्वरोजगार बन्दै गएका छन् ।
एक वर्षअघि यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयले विभिन्न किसिमका पसलमार्फत रोजगारीका अवसर सिर्जना गर्न थालेका हुन् ।
यहाँ निर्मित झोलुङ्गे पुल हेर्न जिल्लाका साथै भारतबाट पनि पर्यटक आउन थालेपछि स्थानीयद्वारा सञ्चालित पसलमा व्यापार बढ्न थालेको सुस्ता-५ का वडाध्यक्ष प्रभुनाथ यादवले बताए ।
“यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएको एक वर्ष भएको छ । हालसम्म होमस्टे (घारबास) तथा व्यवस्थित सवारी पार्किङस्थल बनाउन सकेका छैनौँ । स्थानीयले स-साना पसल सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन् । यसले स्थानीयको आर्थिकस्तर सुधार हुँदै गएको छ”, उनले बताए ।
वडाध्यक्ष यादवले आन्तरिक तथा छिमेकीमूलुक भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रबाट र न्यून सङ्ख्यामा अन्य मुलुकबाट पर्यटक यहाँ आउन थालेको बताए । दैनिकी एक हजार भन्दा बढी पर्यटक झोलुङ्गे पुल अवलोकन गर्र्न आउन थालेका जनाउँदै उहाँले स्वरोजगार बनेसँगै स्थानीयको दैनिकी फेरिन थालेको उल्लेख् गरे।
सुस्तामा झोलुङ्गे पुल निर्माणपछि यो क्षेत्र थप आकर्षित हुनुका साथै पर्यटकीय गतिविधि चलायमान बन्दै गएको गाउँपालिकाका अध्यक्ष टेकनाराण उपाध्यायले बताए । हाल स-साना पसल सञ्चालनमार्फत स्थानीयले आम्दानी गरिरहेकाले आगामी दिनमा घरबास सञ्चालन गरी पर्यटकलाई बस्न, खान सहज व्यवस्थापनसहित रोजगारीका नयाँ अवसर सिर्जना गर्ने योजना पालिकाले बनाएको उनको भनाइ छ ।
प्रतिक्रिया