शिक्षकहरुलाई प्रचण्डको सुझाव : माग पूरा नभएसम्म सडक नछोड्नु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो माग पूरा नभएसम्म सडक नछाड्न शिक्षकहरुलाई सुझाव दिएका छन् ।
आइतबार नेवाः मुक्ति मोर्चाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकहरुको माग सम्बोधन हुनुपर्छ भन्नेमा आफू र आफ्नो दल रहेको बताए ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सुरूवाती दिनदेखि नै उल्टो बाटोमा हिँडिरहेको बताए ।
सदन सुरु हुनेभन्दा ६ दिन पहिला अध्यादेश ल्याएको र शिक्षकहरु सडकमा आउने तयारी थाहा पाएपछि सदन बन्द गरेको बताउँदै अध्यक्ष प्रचण्डले सरकार निरन्तर उल्टो बाटोमा हिँडिरहेको सुनाए । उनले सरकारले शिक्षा विधेयक पारित गरेर माग पूरा गर्न सकिने अवस्थामा हतनपत्त सदन बन्द गरेको आरोप लगाए ।
‘म शिक्षक साथीहरुलाई बधाई भन्न चाहन्छु । तपाईँहरुले ‘हामी छाड्दैनौं’ भन्नुभएको छ । म तपाईहरुलाई भन्न चाहन्छु– जबसम्म तपाईँहरुको माग पूरा हुँदैन, तपाईँहरुले नछोड्नुस् । कहिले सिट्ठी बजाउनुस्, कहिले के गर्नुपर्छ, गर्नुस् । हामी तपाईँको साथमा छौं,’– उनले भने ।
प्रचण्डले प्रतिपक्षी दलहरुको बैठक बसेर जरुरी परेको खण्डमा शिक्षकहरुको माग सम्बोधन गर्न विशेष अधिवेशनको माग गर्ने बताए ।
प्रतिक्रिया