बिहीबार, फागुन २८, २०८२

संस्कृति संरक्षणमा जागरुक हुँदै पाल्पाका युवा

रामचन्द्र रायमाझी २०८१ चैत २६ गते १२:०९

तानसेन (पाल्पा)। नेवार समुदायको संस्कृति जोगाउन तानसेनका युवा सक्रिय भएका छन् । नेवार समुदायमा रहेको मौलिक संस्कृति पछिल्लो समय हराउँदै गएपछि यहाँका युवाले विभिन्न पर्व, मेला तथा महोत्सव आयोजना गरी संस्कृति संरक्षण गर्न थालेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेवार समुदायको रहनसहन, परिकार, पहिरन, संस्कृति युवा पुस्ताले बिर्सिंदै गएपछि संरक्षणमा जुट्न थालिएको स्थानीय बताउँछन् । बढ्दो आधुनिकताको प्रभावसँगै यो समुदायले परापूर्वकालदेखि मान्दै आएका संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्न यहाँका युवाहरू सङ्गठित रूपमा लागेका हुन् ।

मौलिक खानाका परिकारसहित परम्परागत रूपमा खुवाइने भोजलाई आधुनिकताले विस्थापन गर्न लागेको अवस्थामा नेवार समुदायका युवा सङ्गठित बरजु गुठी पाल्पाले एक दिने नेवारी मौलिक भोज ‘नेवाः भ्वय्’ आयोजना गरेको जनाएको छ । नेवार समुदायको बाक्लो बसोबास रहेको तानसेन(३ टक्सारटोलमा गुठीले मौलिक भोज आयोजना गरेको हो ।

भोजमा सहभागी पाहुनाले लस्करै बसेर सामूहिक नेवारी भोज खाएका छन् । नेवारी भाषामा ‘झ्व भ्वय्’ ले ‘लस्करै बसेर खाने भोज’ लाई बुझाउँछ । सहभागीमध्ये ज्येष्ठ सदस्यले खान सुरु गरेपछि अरूले खाने चलन छ । सोहीअनुसार ज्येष्ठ नागरिक तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले खान सुरु गरेपछि अन्य सहभागीले खाएका थिए । खानु अघि गुर्जु चिनियामान बज्राचार्य र नगरप्रमुख श्रेष्ठले नेवारी परम्पराअनुसार पूजा गरेर खाना खाने कार्यक्रमको शुभारम्भ गरे ।

भोजमा सहभागी हुन पुग्ने जोकोही व्यक्ति नेवारी भोजन र संस्कार देख्दा खुसी थिए । यो समुदायको भोज खाने आफ्नो नियम छ । सोही नियममा रहेर यहाँ पुग्नेहरूले भोजन गरेका नगरप्रमुख श्रेष्ठले बताए ।

नेवाः भोजमा सहभागीलाई सुकुलमा पलेँटी कसेर खाना खान राखिएको थियो । सुकुलको सबैभन्दा माथि ज्येष्ठ नागरिकलाई राखिएको थियो । भोज सालको पात (लप्ते) मा खुवाइएको हो । लप्तेमा भोजको प्रारम्भिक परिकारहरू राखिसकेपछि सबैभन्दा पहिले ज्येष्ठ नागरिकले खान सुरु गरेपछि अरूले खान सुरु गरेका भन्दै यो नेवारी परम्परा रहेको उनले जानकारी दिए । भोजमा तीन चरणसम्म दोहोरिँदै परिकार राख्न ल्याइएको थियो ।

सुरुमा सालको पातको लपेस (लप्ते) मा खानाका परिकार राखेर ‘भ्वय छुयगु’ भनेर सुरुआत गरिएको थियो । यसरी राखेको भोजमा मानिसहरू बस्न थालेपछि ‘द्यः छायगु’ भनेर देवतालाई चढाउने गरिन्छ । भोज खान सुरु गरेपछि पहिला संक, वास (रक्सी) यसैक्रमले ल्हापा, चिउरा, फिनी, छोइला, केराउलगायत परिकार राखिएको थियो ।

दोस्रो पटक चिउरा, पञ्चकोल, आलु, तामा, गोबी, खसीको मासु, मटर, पनिर, चुकाउनी, अचार, मेथी क्वा, वास राखिएको थियो । तेस्रो पटक वाउँचा (साग), भुटुवा, चिउरा, चिनी, दही, फलफूल, केराउ, सिन्का, वास राखेपछि भोज सकिने गर्दछ । यसरी परिकार राख्दा पहिलो चरणमा के–के राख्ने, दोस्रो, तेस्रो र चौथोमा के–के राख्ने भन्ने पनि नियमबद्ध विधान रहेको नगरप्रमुख श्रेष्ठले बताए । उनका अनुसार अन्त्यमा फलफूल र दही राखिन्छ ।

भोज सकेपछि दाँत कोट्याउने सिन्का (खौका)समेत दिइएको थियो । खौका लिएपछि भोज सकिन्छ । तर, ‘सकियो’ भनेर झ्वाट्ट उठ्न पाइँदैन । पहिलो लाइनका ज्येष्ठ नागरिकहरू उठेपछि मात्रै अरू उठ्ने गरिन्छ । गुठीका विनयराज बज्राचार्यले खानाको नियमबारे भोजमा सहभागीलाई जानकारी गराएका थिए। नेवारी संस्कार र संस्कृति जर्गेनाका लागि सहभागीबाट न्यूनतम शुल्क लिइएको थियो ।

लोप हुन लागेको नेवारी मौलिक खाना र संस्कारको संरक्षण गर्न एक दिने नेवाः भोज राखिएको गुठीका अध्यक्ष प्रविन बज्राचार्यले बताए । “स्थानीयस्तरबाट नै आफ्नो संस्कार संस्कृतिलाई बचाउन जुटेका छौँ”, उनले भने, “सस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई आफ्नो संस्कृति, पराम्परा सिकाउँदै आएका छौँ ।”

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने गुठीका उपाध्यक्ष दिनेशबहादुर बज्राचार्यले बताए । उनका अनुसार यहाँका करिब छ सय परिवार नेवार समुदाय छन् ।

करिब एक सय युवा गुठीमा आबद्ध रहेर संस्कृति संरक्षणमा लाग्दै आएका गुठीका महासचिव धीरजबहादुर बज्राचार्यले बताए । “नेवार समुदायको छुट्टै कला, संस्कार, संस्कृति रीतिरिवाज छ”, उनले भने, “कतिपय परम्परा लोप हुँदै गएकाले यस्ता परम्पराको संरक्षणमा हामी जुटेका छौँ । मौलिक परम्पराको संरक्षण गर्नु नयाँ पुस्ताको दायित्व पनि हो ।”

नगर प्रमुख श्रेष्ठले लोप हुन लागेको नेवार समुदायको संस्कार र संस्कृतिको संरक्षणमा गुठीले देखाएको सक्रियता प्रशंसनिय रहेको बताए । नेपाल सबै जातजातिको बगैँचा भएको भन्दै नेवार त्यसमा पनि उत्कृष्ट संस्कृति भएको जातिमा पर्ने उनले उल्लेख गरे । परम्परागत नेवारी संस्कृति संरक्षण, सम्वर्द्धन र विकाससँगै मौलिकपनलाई चिरकालसम्म बचाइराख्न यस्ता कार्यक्रम सहयोगी बन्ने उनले विश्वास व्यक्त गरे ।

भोजमा सहभागी हुन पुगेकी नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिञ्जालीले खाना बस्दादेखि उठ्दासम्म नेवारी संस्कारले आफ्नो मन छोएको बताइन् । उनले भनिन्, “संस्कार एकातिर थियो भने खानाका परिकार समेत स्वास्थ्यवर्द्धक थिए । यस्ता सन्तुलित र वैज्ञानिक खाना हाम्रो शरीरका लागि फाइदाजनक समेत हुन्छन् ।”

उपप्रमुख सिञ्जालीले यस्ता परम्परागत भोजको पुस्ता हस्तान्तरण गर्दै जाने र यसको प्रचारप्रसार गरी तानसेनमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने धारणा राखिन् । उनले कला, संस्कृतिका माध्यमबाट पर्यटकलाई आकर्षित गर्दै पर्यटन प्रवर्द्धन गर्दै जानुपर्नेमा जोड दिइन् ।

गुठीले पहिलोपटक विसं २०७१ मा नेवारी मौलिक भोज गराएको महासचिव बज्राचार्यले जानकारी दिइन् । भोजमा २४ किसिमका परिकार बनाइएको कार्यक्रम संयोजक बाबुरत्न शाक्यले बताइन् । सोही अवसरमा विभिन्न नेवारी कला संस्कृति समेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया