आइतबार, वैशाख १४, २०८२

दमकलको आशमा बसेका सुनवलबासीलाई नगरपालिकाको एकैपटक दुईवटा स्कार्पियो उपहार

मेरोन्यूज २०८२ वैशाख १३ गते २०:१६

नवलपरासी। नवलपरासीको सुनवल १२ भुमहीमा एक टायर गोदाममा गत वर्षको माघ महिनाको जाडोमा भिषण आगलागी भयो । छिमेकी पालिका रामग्राम र बर्दघाट तथा रुपन्देहीबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा आयो ।

समयमै दमकल आइनपुगेको भए भुमही बस्तीमा ठुलै क्षती हुन सक्थ्यो । त्यसपछि नगरपालिकाका प्रमुख बिमला अर्याल सहित जनप्रतिनिधिको टोलीले उक्त आगो लागेको ठाँउको स्थलगत निरिक्षण गर्यो र दमकलको थप आवश्यता महसुस गर्यो ।

नगरबासीले समेत दमकल अत्यावश्यक भएको भन्दै ठुलो क्षती हुनु अगावै दमकल आवश्यक भएको तर्फ सामाजिक संञ्जालबाट ध्यानआर्कषण गराए ।

नगर प्रमुख लगायतले पनि दमकल छिटै आउने बताए तर नगरपालिकामा दमकल आउनु त कता हो कता एकै पटक दुइ–दुइ वटा स्कार्पियो गाडी आयो । एक करोड बढि खर्चेर एकैपटक दुइवटा स्कार्पियो खरिद गरेको विषय अहिले सर्वत्र चर्चा र आलोचनाको विषय बनेको छ ।

आगलागी नियन्त्रणका लागि अत्यावश्यक मानिने दमकल खरिद गर्ने बेला सुनवल नगरपालिकाले दुईवटा स्कार्पियो गाडी खरिद गरेको छ । दमकल नहुँदा सुनवल क्षेत्रमा विगत वर्षहरूमा पनि पटक–पटक ठूलो क्षति भएको छ । नगरपालिकामा दमकल नभएर आगलागी हुँदा रामग्राम बर्दघाट सहित छिमेकी जिल्लाबाट सहयोग माग्नु पर्ने बाध्यता रहेको छ।

स्र्कोपियो ‘क्लासिक एस मोडलको’ ति दुई गाडीको मुल्य १ करोड २२ लाख रुपैयाँ रहेको छ । नगरपालिकामा एउटा गाडी हुदाहुदै एकैपटक दुईवटा गाडीको आवश्यकता किन पर्यो भन्ने विषयले सामाजिक संञ्जाल तातेको छ । आर्थिक वर्ष सकिन करीब तीन महीना मात्र बाँकी रहेका बेला विकास निर्माण तथा अन्य कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिनुको करोडौं मूल्य खर्च गरेर गाडी खरीद गरिएकोमा नगरबासीले जनप्रतिनिधि विकास निर्माणमा अग्रसरभन्दा पनि सुविधाभोगी भएको आरोप लगाएका छन ।

गाडी खरीद गर्नुभन्दा सामाजिक कार्यमा प्रयोग हुने एम्बुलेन्स, दमकलजस्ता उपकरण खरीद गर्दा सम्पूर्ण पालिकावासीनै लाभान्वित हुने सरोकारवालाको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलेले नगरसभाबाट सवारीसाधन खरीदका लागि बजेट विनियोजन गरेअनुसार बजेट कार्यान्वयमा ल्याएको बताए ।  स्रोतका अनुसार सुनवलमा अहिले बजेट अभावमा लागत साझेदारीका कार्यक्रम समेत कार्यान्वयन हुन सकेको छैन् । खानेपानी आयोजना, विद्यालय भवन लगायतलाई स्थानिय उपभोक्ताको लागत साझेदारीमा काम गर्न बजेट माग गर्दा समेत नगरपालिकाले बजेट अभाव देखाउदै आएको छ तर सेवापरार्मश गोष्ठि, विभिन्न किसिमका तालिम प्रशिक्षण, पाश्र्व चित्र लगायतका नाममा लाखौँ रकम खर्च गर्दे आएको बताइएको छ ।

यसले जनप्रतिनिधि सुविधाभोगी बन्दै जनताको सेवाबाट बिचलित भएको भन्दै सामाजिक संञ्जालमा चर्को टिप्पणी हुदै आएको छ ।

प्रतिक्रिया