शुक्रबार, वैशाख २५, २०८३

काठमाडौं भ्युटावर औचित्यहीन, भत्काउनु उपयुक्त : सुनिता डंगोल

मेरोन्यूज २०८२ वैशाख १६ गते २०:३८

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्युटावर औचित्यहीन रहेको स्पष्ट पार्दै संरचना भत्काउनुपर्ने पक्षमा आफू रहेको बताएकी छन् ।

Advertisement
NiccNicc

मेयर बालेन्द्र शाहले टावर भत्काउने तयारी गर्दै गर्दा उपमेयर डंगोलले पनि टावरको उद्देश्य र प्रयोग बाझिएको भन्दै यसले जनता झुक्याएको टिप्पणी गरिन । पत्रकारहरूसँगको कुराकानीमा उनले भनिन्, “जनताका नाममा लिइएको हो भने त्यही प्रयोजनमा प्रयोग हुनुपर्छ, ढाँट्न मिल्दैन।”

डंगोलले महानगरले व्यापारिक उद्देश्यका लागि सटर बनाएर व्यवसाय गर्नु आवश्यक नभएको बताउँदै सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन् । उनले ठमेलको छायाँ सेन्टर र होटल हिल्टनजस्ता संरचनाहरूको पनि गम्भीर अध्ययन गरेर निर्णय लिनुपर्नेमा जोड दिइन् ।

“पोखरीमा संरचना बनाउनु ठीक होइन, त्यो भत्काएर पुरानै स्वरूपमा फर्काउनु पर्छ,” उपमेयर डंगोलले भनिन् । उनका अनुसार सम्पदा जोगाउन सके, त्यो दीर्घकालीन अमूल्य सम्पत्ति हुने र त्यसले समाजलाई नै जीवन्त बनाउनेछ ।

यसबीच, मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अनियमित रूपमा नक्सा पास गरेको भन्दै कारबाही गरेका छन् । टावरमा नीतिगत भ्रष्टाचार भएको आरोप पनि उनले लगाएका छन् ।

प्रतिक्रिया