बुधबार, वैशाख ९, २०८३

राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

मेरोन्यूज २०८२ वैशाख १६ गते २०:४८

काठमाडौं। स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

Advertisement
NiccNicc

म्याड्रिडस्थित युएन पर्यटन मुख्यालयमा मंगलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालको तर्फबाट शुभकामना सन्देशसमेत हस्तान्तरण गरे।

प्रमाणपत्र प्रस्तुतिपछि भएको वार्तामा राजदूत नेपालले नेपाल सरकारका परराष्ट्रमन्त्रीको तर्फबाट महासचिव पोलोलिकाश्विलीलाई शुभकामना सन्देश प्रस्तुत गर्दै उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो दिए ।

सो अवसरमा महासचिव पोलोलिकाश्विलीले अन्तर्राष्ट्रिय पर्यटक आगमनमा नेपालले महामारीपछिको पूर्ण सुधार हासिल गरेकामा बधाई दिँदै नेपालको प्रयासको सराहना गरे । उनले नेपालको पर्यटन क्षेत्रको पुनःउत्थान र विश्व पर्यटनमा पुर्‍याएको योगदानको प्रशंसा गरेको नेपाली दूतावासले जनाएको छ ।

राजदूत नेपालले नेपालले पर्यटनको विविधीकरणमा दिएको प्राथमिकता जस्तै आध्यात्मिक र सांस्कृतिक सम्पदा तथा जैविक विविधताको प्रवर्द्धनबारे जानकारी दिँदै भविष्यमा युएन पर्यटनका उच्चस्तरीय सम्मेलनहरू नेपालमा आयोजना गर्न प्रस्ताव गरेका थिए ।

भेटमा नेपाल र युएन टुरिजमबीच सहकार्य विस्तारका विविध सम्भावनाहरूबारे पनि छलफल भएको थियो । महासचिव पोलोलिकाश्विलीले प्रभावकारी संवाद र सहकार्यमार्फत दुवै पक्षबीचको सम्बन्ध अझ बलियो बनाउनेमा जोड दिएको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया