मंगलबार, फागुन २६, २०८२

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ श्रावणदेखि, बुकिङ खुला

मेरोन्यूज २०८२ वैशाख २४ गते १५:२६

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले काठमाडौँको भृकुटीमण्डपमा अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्स्पो २०२५ आयोजना गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence


आगामी श्रावण २१ गतेदेखि २५ गतेसम्म सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य रुपमा अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्स्पो २०२५ आयोजना गर्न लागिएको हो ।

उक्त प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने आयोजककाे विश्वास छ ।


साथै अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीहरुलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गरिने छन् ।


प्रदर्शनीमा सहभागीताको लागि स्टल बुकिङ समेत खुला गरिसकिएको छ । यही वैशाख २२ देखि २९ गते (सन् २०२५ मे ५ देखि मे १२) सम्म स्टल बुकिङ खुला रहने छ ।


इच्छुक कम्पनीहरूलाई स्टल बुकिङ गर्न आग्रह गरिएको छ । आयोजकका अनुसार अन्तिम स्टल बाँडफाँड पारदर्शी लटरी प्रणाली मार्फत गरिने छ ।

दुई र चार पाङ्ग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधनका लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ ।

प्रदर्शनीको व्यवस्थापन र संयोजन प्रदर्शनी व्यवस्थापन आयोजनाको क्षेत्रमा एक अग्रणी संस्था मिडिया स्पेस सोलुसन्स प्रा. लि.ले प्रदर्शनीको व्यवस्थापन र संयोजन गर्नेछ ।

विगतका अन्य प्रदर्शनीहरूको तुलनामा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुनेछन् ।

नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबाइल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखिएको नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले बताइन् ।

सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न आफुहरुले काम गरिरहेको उनले बताइन् ।

प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन निरन्तर प्रयासरत रहेको समेत संस्थापक अध्यक्ष वैद्यले बताइन् ।

देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा कार्य गर्दै आइरहेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समेत प्रतिनिधित्व गर्दै आएको छ ।

प्रतिक्रिया