बुधबार, फागुन १३, २०८२

सशस्त्र प्रहरीद्वारा दुई दिनमा १८ सय ४४ स्थानमा चेकप्वाइन्ट स्थापना

मेरोन्यूज २०८२ वैशाख २५ गते १६:५२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट राखेको छ।

Advertisement
nepal life insurencenepal life insurence

भारत–पाकिस्तान द्वन्द्वपछि सिमानामा कडाइ गरेको सशस्त्र प्रहरीले यस्तो सक्रियता देखाएको हो।

वैशाख २३ गते मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोल गरेको एपीएफले जनाएको छ।

भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पट्रोल वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ। त्यस्तै एकल पट्रोल वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको छ।

सोही अवधिमा सीमा इलाकाका १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको छ। वैशाख २३ गते ५ सय ६४, वैशाख २४ गते ६ सय ४० र वैशाख २५ गते ६ सय ४० ठाउँमा गरी १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको हो। सीमामा गस्ती पट्रोल तथा चेकजाँच कार्यलाई निरन्तरता दिइएको एपीएफको भनाई छ।

ती क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरुबाट १० हजार भन्दा बढी सशस्त्र प्रहरी जनशक्ति परिचालन गरिएको छ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्य समेत कडाईकासाथ गरिएको छ सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजिकरण गर्ने कार्य समेत गरिएको उनको भनाई छ।

यसैगरी शहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा पनि सशस्त्रले निगरानी बढाएको छ।

प्रतिक्रिया