परराष्ट्रमन्त्री डा राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज संयुक्त अधिराज्यको संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले शिष्टाचार भेट गरे । परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादमा सहभागिताका लागि नेपाल आएकी उपमन्त्री हमेनबीच आज सो साइडलाइन भेटवार्ता भएको हो ।
उनीहरूबीच नेपाल र बेलायतबीचको लामो र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धका बारेमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले बेलायतले नेपालको आर्थिक सामाजिक क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेकी थिइन् ।
सो अवसरमा जलवायु परिवर्तनको असर कम गर्न आगामी दिनमा गर्न सकिने संयुक्त सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री डा राणाले त्यस अवसरमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको माग गर्दै आएको स्मरण गराउँदै त्यसमा नेपालले बेलायतको सहयोग र सहकार्यको अपेक्षा गरेको पनि बताइन् ।
त्यसैगरी मन्त्री डा राणासँग आजै संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्री अब्दुल्लाह बलालाले शिष्टाचार भेट गरिन् । त्यस अवसरमा उनीहरूबीच नेपाल युएइ सम्बन्ध र आपसी हितका साथै जलवायु परिवर्तनको न्यूनिकरणका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।
साथै आजै मन्त्री डा राणासँग अजरबैजानका राष्ट्रपतिका जलवायु सम्बन्धी विशेष प्रतिनिधि एवं कोप २९ का अध्यक्ष मुख्तर बाबायबले पनि शिष्टाचार भेटवार्ता गरेकी छन् ।
उनीहरूका बीचमा नेपाल र अजरबैजानको अपसी सम्बन्धका साथै दुई देशले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा विचार विमर्श गरेका थिए ।
प्रतिक्रिया