शनिबार, जेठ ३, २०८२

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

मेरोन्यूज २०८२ जेठ २ गते २०:१०

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ जीले भेटवार्ता गरेका छन्। नेपाल भ्रमणमा रहनुभएका उपाध्यक्ष जीले आज सङ्घीय संसद् भवन बानेश्वरमा भेटवार्ता गरेका थिए।

भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो।

सो अवसरमा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्ध मानव सभ्यताको विकाससँगै सुरू भएको चर्चा गर्दै पछिल्ला वर्षमा दुई देशबीचको सम्बन्ध झन निकट र प्रगाढ रहेको बताए। ‘दुई देशबीचको पुरानो सम्बन्ध र सभ्यतासँगै विकसित हुँदै आएको छ । भृकुटी र अरनिको जस्ता ऐतिहासिक व्यक्तित्वले निर्माण गरेको हाम्रो सम्बन्ध निरन्तर विकास र सुदृढ हुँदै गएको छ’, अध्यक्ष दाहालले भने, ‘भविष्यमा हाम्रो मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने कुरामा म विश्वस्त छु।’

राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक एवम् संसदीय भ्रमणहरूले दुई देशको सम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष दाहालले बताए।

नेपालले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुन आएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष दाहालले सगरमाथा संवादले सरोकारवाला सबैलाई एकै ठाउँमा ल्याएर अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय मुद्दा एवम् चुनौतीहरू सम्बोधन गर्नका लागि सहमति र सहकार्य अघि बढाउन सहयोग पुर्‍याउने बताए।

सो अवसरमा चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जीले नेपाल चीनको असल छिमेकी देश भएको बताए। उजले नेपाल रणनीतिक, सांस्कृतिक तथा सामाजिक हिसाबले निकै महत्त्वपूर्ण छिमेकी भएको भन्दै दुई देशले क्षेत्रीय तथा पारस्पारिक विकासमा सहयोगमा गरिरहेको बताए।

नेपाल विगतदेखि नै एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्दै उहाँले चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने नीतिको प्रशंसा गरे। जलवायु परिवर्तनको अवसर न्यूनीकरणका लागि नेपालले गरेको प्रयास निकै सह्रानीय रहेको भन्दै उपाध्यक्ष जीले नेपाल र चीन दुवै देश ट्रान्स हिमालयन राष्ट्र भएकाले यसका चुनौती र अवसर पनि साझा भएको बताए।

भेटमा पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्याल, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी थिए। चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूत छेन् सोङसहित उच्च अधिकारी सहभागी थिए।

प्रतिक्रिया