सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा नहर निर्माणको काम सुरु गरेको छ ।
पूर्वी मूल नहरको केही क्षेत्रमा पानी सञ्चालन भइरहेकाले अब किसानको खेतसम्म पु¥याउन शाखा नहर निर्माण सुरु गरिएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए ।
उहाँका अनुसार राप्ती सोनारी गाउँपालिका–४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम सुरु गरिएको छ । उक्त शाखा नहरको लम्बाइ चार किलोमिटर रहनेछ भने नहरको एक दशमलव चार किमीबाट प्र–शाखा नहर निर्माण गरिने र शाखामा तीनवटा जति प्र–शाखा नहर रहनेछन् ।
शाखा नहर निर्माणका लागि रु पाँच करोड ७९ लाखमा पिएस निर्माण सेवासँग ठेक्का सम्झौता भई काम अगाडि बढेको आयोजनाका इञ्जिनियिर विनेश श्रेष्ठले जानकारी दिए । शाखा नहरबाट ६७० हेक्टर क्षेत्रमा सिँचाइ गर्ने लक्ष्य लिइएको र यसबाट सतह सिँचाइ गर्न नसक्ने क्षेत्रमा पानी पु¥याउन लिफ्ट सिँचाइको वैकल्पिक व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । लिफ्ट सिँचाइका लागिसमेत रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको श्रेष्ठले जानकारी दिए।
पूर्वी मूल नहरमा शाखा नहर निर्माण नहुँदा स्थानीयले यसअघि ‘राजकुलो’ मा सिक्टाको पानी खसालेर सिँचाइ गर्दै आएका थिए ।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आयोजनाले किसानको खेतमा पानी पु¥याउनुपर्ने बताए । राप्ती सोनारीको वडा नम्बर १ बाहेक सबै वडामा सिक्टाले छोए पनि सतह सिँचाइ नपुग्ने ठाउँमा वैकल्पिक व्यवस्था गरिदिनुपर्ने उनको माग छ ।
प्रतिक्रिया