शनिबार, जेठ १०, २०८२

दुई महिनाभित्र पशु कल्याण ऐन जारी गरिसक्ने कृषिमन्त्रीकाे प्रतिवद्धता

मेरोन्यूज २०८२ जेठ ९ गते १७:३४

काठमाडौं । पशु कल्याणको वर्तमान अवस्था तथा पशु कल्याणकाे आवश्यकता र महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पशु कल्याणकारी संस्था स्नेहाज केयरको आयोजना र नेपाल फार्मर्स एडभाईजरी काउन्सिलको सहआयोजनामा आज पुल्चोक ललितपुरस्थित एलिस रेष्टुरेन्टमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा बाेल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारिले यस अन्तरक्रियाबाट पशु कल्याणका विषयमा आफूले धेरै कुरा सिकेको र प्रभावित भएको बताउँदै अबको दुई महिनाभित्र पशु कल्याण ऐन जारी गरिसक्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले स्नेहाज केयरसँग पशु कल्याणका लागि निकट सहकार्य रहेको बताए । उनले नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले भेटनरी एम्बुलेन्स समेत प्रदान गरेको बताउँदै संघीय पशु कल्याण ऐन जारी भए लगत्तै हिँउदे वा वर्षे अधिवेशनबाट स्थानीय पशु कल्याण ऐन जारी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठले नेपालमा पशु कल्याण कानुन र अदालत विषयमा प्रस्तुति गर्दै पशु कल्याणको वर्तमान अवस्था र कानूनि प्रावधानहरुका सम्बन्धमा प्रस्ट पारेका थिए । पशु कल्याण ऐनलाई एकिकृत कानुनको रुपमा नभइ छुट्टै कानुनको रुपमा ल्याउनुपर्नेमा उनको विशेष जोड थियो । उनले सम्मानित सर्वोच्च अदालतबाट भएका परमादेशहरुको मर्मबमोजिम पनि छुट्टै पशु कल्याण ऐन ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

कृषि, सहकारि तथा प्राकृतिक श्रोत समति सदस्य बिजुला रायमाझिले पशु कल्याणको विषय निकै महत्वपूर्ण रहेकोले सबै प्राणिहरुको बाँच्ने अधिकारलाई सुनिश्चित गर्नेगरि समितिमा दफादार छलफल गरिने र त्यसमा आफूले भरपूर प्रयत्न गर्ने बताइन् । त्यस्तै अर्का सदस्य रञ्जिता श्रेष्ठले समितिमा भावुक मन्तव्य व्यक्त गर्दै जनावरहरुको लागि बोलिदिने कोहि नभएकोले पशु कल्याण ऐन निर्माण गर्ने कार्यमा आफूले सक्दो प्रयास गर्ने बताइन् ।

नेपाल फार्मर्स एडभाईजरि काउन्सीलका अध्यक्ष एवम् पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीले नेपाल पशु कल्याणका क्षेत्रमा विश्वका अन्य देशहरुभन्दा २०० वर्ष पछाडि रहेको र छिमेकी भारतमा समेत १९६० मै पशु कल्याण ऐन जारि गरि सन् १९६२ मा शक्तिशाली पशु कल्याण बोर्ड नै स्थापना भएकोमा हामीले त्यसबाट धेरै सिक्नुपर्ने बताउँदै कानुन निर्माणमा नेपाल सरकारको उदासिनता देखिएको बताए । उनले नेपालको कर्मचारी संयन्त्र समेत कानुन निर्माणमा कहिले अघि कहिले पछि गर्ने गरेकोले सबैले प्रतिवद्ध भएर कानुन निर्माणमा जुट्नुपर्ने बताए ।

स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले नेपालमा पशु कल्याणः आवश्यकता र महत्व विषयमा प्रस्तुतिकरण गर्दै नेपालमा पशु कल्याणको वर्तमान अवस्था, पशु कल्याण ऐन, पशु कल्याणको महत्व र आवश्यकता तथा पशु कल्याणका लागि संस्थाले गरेका क्रियाकलापहरु सम्बन्धमा प्रस्ट्याइन् । उनले नेपालमा पशु कल्याण ऐन पशु कल्याण अभियन्ताहरुको लागि बहुप्रतिक्षित दस्तावेज भएकोले यसलाई चाँडो पारित गरि लागु गर्नुपर्ने र समयसापेक्ष संसोधन गर्दै जानुपर्ने बताइन् ।

विश्वका विभिन्न देशहरुमा पशु कल्याण सम्बन्धि कानुन धेरै पहिले नै निर्माण भई लागु भइसकेको अवस्था थियो । छिमेकी देश भारतले समेत सन् १९६० मा पशु कल्याण ऐन निर्माण गरेको र सन् १९६२ मा पशु कल्याण वोर्ड नै स्थापना गरि पशु कल्याण सम्बन्धि कार्यहरु गरिरहेको सन्दर्भमा नेपालमा समेत जनावरहरुप्रति हुने निर्दयी व्यवहारलाई रोक्न र पशु कल्याण प्रवद्र्धनका लागि कानुनि आधार सृजना गर्न छुट्टै पशु कल्याकण ऐनको आवश्यकता रहेकोले नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/०८/०२ मा सैद्धान्तिक सहमति प्राप्त भई उक्त ऐनको मस्यौदा विधेयकको रुपमा छलफलमा रहेकोमा नेपालमा पशु कल्याणको वर्तमान अवस्था, पशु कल्याण ऐनको आवश्यकता र महत्व तथा पशु कल्याण ऐन चाँडोभन्दा चाँडो जारि गर्नका लागि सरोकारवालाहरुलाई सूसूचित गर्न यो अन्तरक्रिया आयोजना गरिएको हाे ।

प्रतिक्रिया