रवि समर्थकलाई सर्वोच्चको चेतावनी– न्यायाधीशको मानमर्दन हुने क्रियाकलाप नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले न्यायिक आदेश र फैसलाहरूउपर अशोभनीय टीका-टिप्पणी नगर्न रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूलाई चेतावनी दिएको छ । लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई थुनामै राख्ने आदेश सदर गर्दै सर्वोच्चले नियोजित ढङ्गले न्यायाधीशहरूको मानमर्दन गर्ने गतिविधि नगर्न चेतावनी दिएको हो ।
आदेशमा भनिएको छ, ‘बहसका क्रममा विद्वान् नायब महान्यायाधिवक्ता र जाहेरवालाका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता एवम् अधिवक्ताहरूले उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट आदेश गर्ने माननीय न्यायाधीशहरूउपर सामाजिक सञ्जाल एवम् अन्य सञ्चार माध्यममा लाञ्छनापूर्ण र अशोभनीय टीकाटिप्पणी गरेको भनी इजलासलाई अवगत गराउनुभएकाले सोतर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ । अदालतबाट भएका आदेश एवम् फैसलाहरूउपर स्वच्छ र रचनात्मक टिप्पणीहरू सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढङ्गले न्यायाधीशहरूको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध हुन जाने भएकाले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ ।’
प्रतिक्रिया