सोमबार, फागुन ११, २०८२

सामुदायिक अस्पतालले सरकारसँग सहकार्य गर्नुपर्ने

मेरोन्यूज २०८२ जेठ १४ गते १८:४४

काभ्रेपलाञ्चोक। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सामुदायिक अस्पतालले उत्कृष्टता हासिल गर्न सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले धुलिखेल अस्पताल परिसरमा निर्माण हुने ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को आज शिलान्यास गर्दै सामुदायिक अस्पताललाई समेट्ने गरी सरकारले नीतिगत विषय परिमार्जन गरेकाले सहकार्य आवश्यक रहेको बताए ।

‘भोलि सार्वजनिक हुने बजेटमासमेत सामुदायिक अस्पतालगायत स्वास्थ्य संस्थालाई सहकार्य गर्ने गरी सहभागिता गराइएको छ । सरकारसँगको सहकार्यले स्वास्थ्य क्षेत्रमा उत्कृष्टता हासिल गर्न सकिन्छ’, मन्त्री पौडेलले भने ।

स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकारले थुप्रै विषय ल्याएकाले कार्यान्वयन गर्न स्रोतको खोजी भइरहेको उनले जानकारी दिए । ‘स्रोत जुटाउन सामुदायिक क्षेत्र, शुभेच्छुक अन्तर्राष्ट्रिय दाता तथा निकायसँग जोड्न सक्नुपर्छ’, उनले भने ।

राज्यले स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार लगानी गर्न सक्ने अवस्थालाई सबल बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिँदै बिमा प्रणालीमार्फत विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।

सोही कार्यक्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपाल प्रमुख मासुजाकी मिजुकीलेले सन् १९७० देखि जापान–नेपालको मित्रता कायम रहेकाले नेपालमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको बताए ।

उनले जापान सरकारले बिपी राजमार्ग अन्तर्गत धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक निर्माण गरेको स्मरण गर्दै गत सालको बाढीपहरोले केही खण्ड क्षतिग्रस्त बनाएकामा दुःख व्यक्त गरे ।

जापान सरकारले तीन अर्ब ६० करोड २६ लाख यान अनुदान सहयोग गरेको उक्त ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माणमा जापानले ६० प्रतिशत भवन र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने सम्झौतामा उल्लेख छ । सेन्टरमा पार्किङ, ‘आइसियू’, तीन वटा शल्यक्रिया कक्ष, ‘एचडियू’, प्रयोगशाला, ‘फार्मेसी’, फोहोर व्यवस्थापनलगायत आवश्यक सेवाहरू उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया