सोमबार, वैशाख २१, २०८३

अन्नपूर्ण आरोहणको ७५औँ वार्षिकोत्सव, गाउँपालिकामा सार्वजनिक बिदा

मेरोन्यूज २०८२ जेठ १७ गते ८:५२

पोखरा– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम (८,०९१ मिटर) हिमालको सफल आरोहणको ७५ औं वार्षिकोत्सव (हिरक महोत्सव) को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्र मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ ।

Advertisement
NiccNicc

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालबाट सन् १९५० जुन ३ (२००७ साल जेठ २०) मा पहिलोपटक अन्नपूर्ण प्रथमको सफल आरोहण भएको थियो ।उक्त ऐतिहासिक दिनको सम्झनामा गाउँपालिकाले आगामी जेठ २० गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गत बैशाख २९ गतेको गाउँ कार्यपालिकाको बैठकबाट गरिएको निर्णय अनुसार अन्नपूर्ण गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा लागू हुनेछ।यो निर्णय अनुसार जेठ १६ गते राजपत्रमा समेत सूचना प्रकाशित गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार अन्नपूर्ण दिवसलाई ऐतिहासिक र गौरवपूर्ण रुपमा मनाउन बिदा दिने निर्णय गरिएको हो ।

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालले अन्नपूर्ण आरोहण गरेको ७५ वर्षको अवसरमा हर्जोगका छोरा र नातिको उपस्थितिमा विशेष समारोह गर्न लागिएको छ ।

प्रतिक्रिया