मंगलबार, जेठ २०, २०८२

पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध

मेरोन्यूज २०८२ जेठ १८ गते ११:५५

उदयपुर । जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएको छ । सदरमुकाम गाईघाटबाट रौता-सल्ले, रौता-भुटारसहितका ग्रामीण सडक अवरुद्ध भएका रौता सल्लेको विष्णु पाठकले बताए ।

शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रको ग्रामीण सडक भत्किएको र कतिपय पहिराले पुरिएका उनले बताए । रौता-नामन्त, रौता-आँपटार, नामेटार-ओख्रेनी, रामेटार-भदौरेसहित पाँबु क्षेत्रका ग्रामीण सडक पनि अवरुद्ध भएका स्थानीय डिल्लीराम मगरले बताए । रौता-मुर्कुची भएर डिल्लीबर हुँदै माझखर्क जाने सडक पनि विभिन्न स्थानमा भत्किएका र बाढीले बगाउँदा अवरुद्ध भएको स्थानीय दिव्यराज मगरले बताए ।

निरन्तरको वर्षाले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक भत्काएर खाल्डो परेको वा पहिराले पुरिएको कारण अहिले मोटरसाइकलसमेत सञ्चालन हुन नसकेको माझखर्कका जम्बु शेर्पा बताउँछन् । मुर्कुची-डिल्लीबर-माझखर्क भएर लिम्चुङबुङको बासबोटे बराह जाने ग्रामीण सडक पनि अवरुद्ध भएको छ ।

उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा-बर्रे, डुम्रे-उदयपुरगढी सडक पनि भत्किएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको डुम्रेका गंगा मगरले बताइन् । बेलका नगरपालिका- ८ को कोठुबाट मैनामैनी जोड्ने सडक भत्किएर अवरुद्ध भएको छ ।

शनिबारको वर्षाको कारण जिल्लाका चार पहाडी गाउँपालिकाका सडक अवरुद्ध भएका जानकारी उनले दिए ।

प्रतिक्रिया