कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न कुश्मा बजारमा बनाइएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन छ ।
कुश्मा नगरपालिकाको मुख्य योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा बनाइएको यो घण्टाघर अझै पूर्ण भएको छैन। नगरपालिकाले ८० लाख रुपैयाँ खर्चेर बनाएको यो संरचनामा ताला लगाइएको छ र बाहिरी भाग जीर्ण बन्दै गएको छ ।
स्थानीय व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षित गर्न बनाइएको घण्टाघर प्रयोगमा नआएको बताए। ‘यो घण्टाघर वरपरका घरभन्दा पनि होचो बनाइएको छ,’ उनले भने । आर्थिक वर्ष २०७७/७८ को बजेटबाट सुरु भएको यो संरचना निर्माणअघिदेखि नै विवादमा थियो ।
कुश्मा–५ का वडाध्यक्ष रामहरि चापागाईँले अघिल्लो कार्यकालमा जनप्रतिनिधिले यो बनाएकाले सबै जानकारी नभएको बताए। ‘दुई वर्षअघि निर्माण सकिए पनि टावरमा ताला लगाइएको छ,’ उनले भने ।
नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आगामी वर्षको बजेटबाट घण्टाघरलाई पूर्ण बनाउने बताए। उपप्रमुख स्वस्थानी रिजालले नगरभित्रका संरचनालाई संरक्षण गरी सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले घण्टाघर सञ्चालनका लागि कुनै योजना नभएको र छलफल नभएको बताए । ‘निर्माण सकिएर गत वर्ष भुक्तानी भइसकेको छ, तर घडी नेपालमा नपाइने भएकाले प्रयोग गर्न सकिएको छैन,’ उनले भने ।
साहसिक पर्यटनको केन्द्र बन्दै गएको कुश्मामा विश्वकै दोस्रो अग्लो बञ्जी र सबैभन्दा लामो सुपरम्यान शैलीको जीपलाइन नजिकै रहेको यो घण्टाघरलाई समयमै पूर्ण बनाउन सके पर्यटकको आकर्षण बढ्ने स्थानीय शिशिर पौडेलले बताए ।
प्रतिक्रिया