आइतबार, वैशाख २०, २०८३

बजेट निजीक्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नु भएन : चन्द्र ढकाल

मेरोन्यूज २०८२ जेठ १९ गते १८:४६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक, आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले निजीक्षेत्रका धेरैजसो सुझावहरू समेटेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्दै उनले निजीक्षेत्रका धेरैजसो सुझावहरूलाई आगामी आर्थिक बर्ष २०८२/८३ को बजेटले  समेटेको बताए । 

Advertisement
NiccNicc

उनले बजेट निजीक्षेत्रको ‘कि ड्राईभर’को रूपमा आएकाले निजीक्षेत्रलाई उत्साहित बनाएको बताए । ‘हामी आफ्ना फाइदाका लागि मात्रै नभई समग्र अर्थतन्त्रको सुधारका लागि माग राख्दै आएका छौँ,’ ढकालले भने, ‘सोही सुझावहरूलाई सरकारले कानुन र बजेटमार्फत निजीक्षेत्रलाई उत्साहित बनाउनेगरी व्यवस्था गरिदिएको छ ।’

निजीक्षेत्रले दिएका धेरै सुझावहरू बजेटमा समेटिँदै गर्दा यसमा समेटिएका सुझावहरूलाई कार्यान्वयनमा भने सरकार चुक्न नहुने उनले बताए । यसअघि पनि निजीक्षेत्रले समग्र अर्थतन्त्र उन्नयनका लागि माग गरेका विषयहरू बजेटमा समेटिए पनि सोही अनुसार कार्यान्वयन नहुने भएपछि भने निजीक्षेत्र जहिले निरुत्साहित हुँदै आएको बताए । 

आगामी बजेटले नयाँ आँट गरेको पनि उनले बताए । ‘हामीले पहिलेदेखि नै भन्दै आएको नेपालको खनिज पदार्थ निर्यात गर्न दिनुपर्छ भन्ने माग बजेटले समेटेकोमा हामी उत्साहित छौँ’, उनले भने, ‘उद्योगले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेर खनिजजन्य वस्तुहरू निर्यात गर्न सकिने व्यवस्था माग गर्दै आएका थियौँ । यसपल्ट बजेटमा समेटिएकाले यो व्यवस्था कार्यान्वयनमा पछि पर्नु हुँदैन ।’

मध्यपूर्वमा खनिजजन्य पदार्थका रूपमा मानिएको पेट्रोलियम पदार्थ बाहिर ननिकालेको भए या प्रशोधन नगरी जमिनभित्रै राख्नुपर्छ भन्ने आवाज उठेको भए मध्यपूर्वका राष्ट्रहरू यो अवस्थामा पुग्न नसक्ने बताउँदै उनले नेपालको खनिज पदार्थलाई पनि आर्थिक उन्नयनका लागि निर्यात गर्न पछि हट्न नहुने बताए । यस्तै निजीक्षेत्रले भनेबमोजिम सेजको भाडामा सहजीकरण, अन्तर्राष्ट्रिय सभा हल निर्माणलगायतका मागहरू बजेटमार्फत सम्बोधन भएको उनले बताए । 

प्रतिक्रिया