आइतबार, वैशाख ६, २०८३

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

मेरोन्यूज २०८२ जेठ २४ गते २०:४४

साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज यात्राका क्रममा कम्तीमा १३ जना इरानी नागरिकको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ को हज यात्राका क्रममा शुक्रबार (जुन ६) सम्म मृत्यु भएका इरानी हज यात्रीको कुल सङ्ख्या १३ पुगेको छ ।”

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

“हालैका दिनहरूमा साउदी अरबका पवित्र शहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियस र सोभन्दा माथि पुगेको छ, जसले गर्दा हज यात्रीहरूले व्यापक गर्मीको सामना गर्नुपरेको छ,” इरनाले भनेको छ । इर्नाका अनुसार यो बर्ष ८६ हजार ७०० इरानीहरू तीर्थयात्राका लागि साउदी अरब गएका छन् ।

गत वर्ष साउदी अरबको हज यात्रामा ५१.८ डिग्री सेल्सियस (१२५ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएको थियो भने यात्राका क्रममा २२ इरानीसहित एक हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो । अत्यधिक गर्मीका कारण शरीरको प्राकृतिक चिसोपना र प्रणालीहरू अस्तव्यस्त हुँदा समस्या उत्पन्न हुन्छ, जसले गर्दा चक्कर आउने र टाउको दुख्ने देखि अङ्गहरूले काम गर्न छोड्ने र मृत्यु हुनेजस्ता लक्षणहरू देखा पर्छन्।

शनिबार जारी विज्ञप्तिमा तीर्थयात्रीहरूलाई प्रत्यक्ष सूर्यको प्रकाशबाट जोगिन, शरिरमा पानीको मात्रा कम हुन नदिन र गर्मीको जोखिम कम गर्न अन्य सावधानीहरू अपनाउन पनि सल्लाह दिइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जलवायु परिवर्तनका कारण हरेक वर्ष कम्तीमा पनि पाँच लाख मानिसको मृत्यु हुने गरेको आँकलन गर्दै वास्तविक सङ्ख्या ३० गुणासम्म हुन सक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया