बिहीबार, चैत १९, २०८२

धनगढीमा १३ लाखको अखाद्य वस्तु नष्ट

मेरोन्यूज २०८२ जेठ २६ गते १५:३२

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा रु १३ लाख बराबरको अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यालयले बजारमा बिक्री हुने र होटल, रेष्टुरेन्टमा तयार गरिने खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर नियमनको विभिन्न अनुगमनतर्फ उपभोग्य म्याद सकिएका, मिसावट पाइएका, खाद्य स्वच्छता कायम नभएका, दुषित तथा न्यूनस्तरका खाद्य पदार्थ जफत गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले जानकारी दिनुभयो । नष्ट गरिएका खाद्य पदार्थमा पाउरोटी, मिठाइ, मसला, दाल, मह, चामल, अत्याधिक विषादी रहेका आँप, दूधलगायत रहेका उनले बताए ।

यस अवधिमा कार्यालयमा प्राप्त नमूनाको विश्लेषण दस्तुर तथा अनुज्ञापत्र जारी, नविकरण र सिफारिस दस्तुर बापत रु १५ लाख ६० हजार राजश्व सङ्कलन गरेको छ । यसैगरी करिब एक हजार किलो मह नष्ट गरिएको छ भने सो दूषित मह बिक्रि गर्ने १६ भारतीय नागरिकविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख प्रधानले बताए।

विभिन्न सरोकारवाला निकायसँग संयुक्त अनुगमन गर्ने क्रममा लम्कीचुहा नगरपालिका–१ स्थित ‘सप्तऋषि बिजनेस ग्रुप’मा तीन हजार चार सय ५० किलो रङ मिसाइएको कालो दाल जफत गरी नष्ट गरिएको छ । फलफूल तथा तरकारीमा विषादी परिक्षण गर्ने क्रममा धनगढीस्थित एउटा गोदाममा रहेको करिब दुई हजार तीन सय किलो आँपमा बिषादी पाइएपछि धनगढी उपमहानगरपालिकाको समन्वयमा उक्त आँप नष्ट गरिएको प्रमुख प्रधानले बताए ।

खाद्य तथा दाना ऐन अनुरुप कैलाली र कञ्चनपुरमा विभिन्न उद्योगबाट सङ्कलन गरिएका नमूनामध्ये प्रतिकुल पाइएका नौ खाद्य उद्योग र चार दाना उद्योग उपर मुद्दा दायर गरिएको छ । यस्तै विगतमा दायर गरिएका मुद्दामध्ये ११ वटाको फैसला भएको छ । उनीहरुलाई विभिन्न कसुरमा रु पाच हजारदेखी रु २५ हजारसम्म जरिवाना गरिएको छ ।

प्रतिक्रिया