मंगलबार, फागुन १९, २०८२

योगलाई जीवन जिउने कलाका रूपमा बुझ्न जरुरी छ:मुख्यमन्त्री पाण्डेले

मेरोन्यूज २०८२ असार ७ गते २१:०६

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगले जीवनशैली सरल, सहज र सन्तुलित बनाउने भएकाले यसलाई जीवन जिउने कलाका रूपमा बुझ्न जरुरी रहेको बताएका छन् । अन्तरराष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदुतावासद्वारा आज पोखरामा आयोजित एक दिवसीय योग कार्यक्रममा उनले हामीले योगलाई शारीरिक व्यायामको रूपमा मात्र नभएर जीवन जिउने कलाका रूपमा बुझ्न जरुरी रहेको धारणा राखे ।

Advertisement
nepal life insurencenepal life insurence

“योग भनेको शरीर, मन र आत्माको सन्तुलन हो”, उनले भने, “जसले हामीलाई सशक्त, सचेत र नैतिकवान बनाउँछ ।” जीवनलाई सरल, सहज र सन्तुलित बनाउन योग अपरिहार्य रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । गण्डकी प्रदेश सरकारले योगलाई प्राथमिकतामा राखेर गत वर्ष गण्डकी स्वजागरण अभियान सञ्चालन गरेको बताउँदै उनले प्राकृतिक रूपमा सुन्दर, धार्मिक रूपमा ऐतिहासिक र सांस्कृतिक विविधता भएको गण्डकी प्रदेश योग अभ्यासका लागि वातावरणीय दृष्टिकोणले अत्यन्त उपयुक्त क्षेत्र भएको उल्लेख गरे ।

योगलाई समुदायस्तरसम्म पुर्‍याउन, विद्यालय तहबाट योग शिक्षा र अभ्यास जरुरी रहेको बताउँदै उनले यसका लागि प्रदेश सरकारले स्थानीय तह, विभिन्न सङ्घसंस्था र सरोकार भएका निकायसँग समन्वय गर्दै आएकाले यसलाई निरन्तरता दिने जानकारी दिए ।

योगले हरेक नागरिकलाई स्वस्थ, शान्त, सुन्तुलित जीवनयापनमा मद्दत पुर्‍याउने उहाँको भनाइ छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपाल र भारतबीचको युगौँदेखिको सम्बन्धलाई यस किसिमका कार्यक्रमले थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा योग संस्कृतिको विकासका लागि महानगरस्तरीय योग केन्द्र स्थापना गरिएको बताए । पोखरा महानगर क्षेत्रमा क्रियाशील योग केन्द्रहरूमा आवश्यक सामग्रीको उपलब्धतामा महानगरले सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले योग सबैका लागि अपरिहार्य भएको धारणा राख्नुभयो । उक्त अवसरमा विभिन्न उच्चपदस्थ अधिकारी, समाजिक अभियन्ता, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया