विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती

खोटाङ। खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुगेका थिए । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा नेपाल फर्किए ।
मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचत गरेका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुगे । अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुगेका सरोजले गाउँ फर्किएर व्यावसायिक बङ्गुर फार्म सञ्चालन गरे ।
सुरुमा बङ्गुरले राम्रो उत्पादन दिँदै थियो । व्यावसायिक बङ्गुर पालनमा निकै उत्साहित बनेका सरोज आफूले उत्पादन गरेका बङ्गुर बिक्री नभएपछि छोटो समयमै निरुत्साहित बने । बङ्गुरपालनबाट करिब १८ लाख रुपैयाँ घाटा बेहोर्नु पर्याे ।
ठूलो लगानीमा सुरु गरेको बङ्गुरपालन व्यवसाय छाडेर सरोज पुनः बाख्रापालनमा लागे । बाख्रापालनका लागि जनशक्ति अभाव भएपछि त्यसलाई पनि छाडेका सरोजले सम्भावनाको खोजी गर्न भने छाडेनन् ।
गाउँमै केही गर्ने उद्देश्यसहित सम्भावनाका खोजी गरिरहेका सरोजले ६ वर्षअघि एउटा युट्युब च्यानलमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती गर्ने विधिसम्बन्धी दिइएको जानकारी राम्ररी हेरे । गाउँमै बसेर केही गर्ने हुटहुटीमा छटपटाइरहेका सरोज त्यो युट्युब च्यानलकै माध्यमबाट भारतको हैदरावादसम्म पुगेर ड्रागन फ्रुटखेती गर्ने विधिसम्बन्धी हप्ता दिनको तालिम लिए ।
तालिम लिएकै ठाउँबाट २५० वटा ड्रागन फ्रुटका बिरुवा खरिद गरी साथमै लिएर आफ्नो घर हौँचुर फर्किए । घरमा आएर पाखो बारीमा ड्रागन रोपे । अहिले ती बिरुवालाई मदर प्लान्ट (आमा बोट)को रूपमा विकास गर्दै त्यसैबाट बर्सेनि नयाँ बिरुवा उत्पादन गरेर विस्तार गरेका छन् ।
सुरुमा २५० वटा बिरुवा ल्याएर व्यावसायिक खेती थालेका सरोजको फार्ममा अहिले दुई हजार ७०० वटा ड्रागन फ्रुटका बोट छन् । सरोजको फार्मभरि अहिले राताम्मे भएर फलेका ड्रागन फ्रुट टिप्ने दोस्रो लट (चरण)को सिजन (समय) सुरु भएको छ ।
तीन वर्षअघिदेखि उत्पादन दिन थालेको फार्मबाट गत वर्ष दुई हजार केजी बिक्री भएको थियो । बर्सेनि उत्पादन वृद्धि हुँदै गएको फार्ममा यस वर्ष तीन हजार केजीभन्दा बढी ड्रागन फ्रुट उत्पादन हुने अनुमान गरिएको सरोजले जानकारी दिए ।
एउटा बोटबाट सरदर २५ केजी उत्पादन हुन थालेको फार्मबाटै प्रतिकेजी ३०० रुपैयाँमा बिक्री गर्दा ६ लाख रुपैयाँ सङ्कलन भएको सरोजले जानकारी दिए । करिब २० रोपनी पाखो बारीमा लगाइएको ड्रागन फ्रुट खरिद गर्नका लागि ग्राहक सरोजको घरैसम्म पुग्ने गरेका छन् ।
ड्रागन फ्रुटमा औषधीय गुण हुने र नेपालको लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको सरोजले बताए । कृषि पेसामा फाइदा हुँदैन भन्ने भनाइलाई गलत सावित गर्दै सरोज व्यावसायिक ड्रागन फ्रुटखेतीमा रमाएका छन् ।
एक छोरा र एक छोरीकी बुबा सरोजलाई श्रीमती कौशिला लिम्बूले सहयोग गर्दै आएकी छिन् । झापाको गोमेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय लिएर स्नातकसम्म अध्ययन गरेका सरोजले २०७६ सालबाट गाउँमा आएर ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गरेका हुन् ।
ड्रागन फ्रुट फूल फुलेको ३५–४५औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १०–१५ दिनसम्म नबिग्रिने सरोजले बताए । सरोजले ड्रागन फ्रुटखेतीका लागि १८ लाख रुपैयाँ लगानी गरिसकेको बताए ।
व्यावसायिक कृषि पेसामा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवद्र्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदान दिने वातावरण मिलाउनुपर्नेमा उनको जोड छ ।
सामान्य अनुदानले कृषि क्षेत्रको प्रवद्र्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न सरकारलाई सरोजको आग्रह छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया