जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ ।
जलजला कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ । गण्डकी प्रदेश सरकारको रु. २० लाख बजेटबाट पर्वतको मोदी गाउँपालिका-१ माटेबाट मोदी र जलजला गाउँपालिकाको सिमानामा पर्ने जलजलासम्म ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण भएको हो ।
पर्यटन तथा उद्योग कार्यालय पर्वतमार्फत सञ्चालित उक्त योजनाको उपभोक्ता समितिका सचिव टीका पुनले माटेबाट वाइफाइडाँडा हुँदै जलजलासम्म दुई किलोमिटर दूरीमा ढुंगाको सिँढी चिनेर पदमार्गका साथै तीन ठाउँमा विश्राम स्थल निर्माण गरिएको जानकारी दिए ।“परापूर्वकालमा गोठालाहरूले प्रयोग गरेको बाटोलाई पदमार्गमा रूपान्तरण गरिएको हो”, उनले भने, “बस्तीबाट टाढा पदमार्ग बनाउन लेसपारका २५ जना मजदुरहरू चार महिनासम्म निर्माण स्थलमै बास बसेका थियौँ ।” पदमार्गका साथै दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्राम स्थल र दृश्यावलोकन स्थल निर्माण भएको छ ।
तीन हजार तीन सय मिटर उचाइमा रहेको माटेबाट दुलेखानी–वाइफाइडाँडा हुँदै तीन हजार मिटर उचाइमा अवस्थित जलजलासम्म पहाडको टाकुरामा निर्माण भएको पदमार्गको यात्राका क्रममा अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीको ग्रामीण बस्ती तथा पहाडहरूको अवलोकन गर्न सकिन्छ । मृगलगायत जंगली जनावर पनि देखिन्छन् ।
यसअघि व्यवस्थित पदमार्ग नहुँदा पर्यटकले बाटो बिराउने, भिरको झाडीमा जोखिम मोलेर हिँड्नुपर्ने समस्या थियो । पदमार्गले पदयात्रालाई सुरक्षित बनाएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । आव २०८२/८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप रु. २० लाख बजेटबाट जलजलबाट म्याग्दीको मोहर डाँडातर्फ पदमार्ग निर्माण गरिने उनले बताए । यसअघि वाइफाइडाँडामा प्रदेश सरकारको रु. १५ लाख बजेटबाट आश्रय स्थल भवन निर्माण भएको थियो भने गत वर्ष जलजला र मोदी गाउँपालिकाको साझेदारीमा जलजलामा विद्युत् सुविधा पुर्याइएको थियो ।
हिन्दु धार्मिक ग्रन्थ रामायणमा जलजलालाई कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको छ । विभिन्न किसिमका जडीबुटी पाइने जलजला जैविक विविधतायुक्तस्थल हो । जलजलाको हम्पालमा धार्मिक पूर्वाधार र प्रवर्द्धनको गतिविधि सञ्चालन भएको छ । जलजलाको पहाडका बीचमा सीम क्षेत्र छ । यहाँ बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना अघि सारिएको छ । म्याग्दीको बेनीबाट पर्वतको मल्लाज, शालिजा हुँदै जलजलासम्म कच्ची सडक पुगेको छ ।















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया