‘मलाई बचाउनु दाइ’ भनेर दाजुलाई म्यासेज लेखेका हरिप्रसाद पाँच दिनदेखि सम्पर्कविहीन

खोटाङ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहनुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन–२ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन हुनुअघि साउन–१ गते मलेसियामै रहनुभएका हरिप्रसादका साहिला दाजु हिमाल राईलाई आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज प्राप्त भएको छ । “मलाई सिध्याउने षड्यन्त्र गरेका छन् । बोस (मालिक) लाई नभन्नु । उसले थाहा पायो भने मलाई सिध्याउँछ । अब मलाई घर पठाउँदैन ।
घर जानका लागि म भाग्नुपर्छ । तपाईहरू सल्लाह गर्नुस् । दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस् ।” भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट अर्थात् साउन–२ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएको जनाइएको छ । काठमाडौँको सिनामङ्गलस्थित फाजल इन्टरनेश्नल प्रालिबाट विसं २०७९ साउन–२८ गते मलेसिया पुगेका हरिप्रसाद मलेसियाको केएलस्थित स्यारोटन होटलमा सहयोगीको रूपमा काम गर्दै आएका थिए ।
कम्पनीमा आफूले कुनै गल्ती नगरे पनि अरुहरूले गरेको गल्तीलाई आफूमाथि थुपारेर दोष लगाउँदै मार्ने षड्यन्त्र गरेको दाजु हिमाललाई हरिप्रसादले पठाएको म्यसेजमा उल्लेख छ । रोजगारीको सिलसिलामा मलेसियामा रहेका भाइ हरिप्रसाद सम्पर्कविहीन भएपछि खोजिकार्यलाई तीव्रता दिइएको दाजु हिमालले बताए ।
“मलाई साउन–१ गते राति म्यासेज गरेको थियो । फोनमा कुरा गरौँ भन्दा अरुले सुन्छ । म्यासेन्जरमै कुरा गरौँ भन्थ्यो !”, उनले भने, “केही समय म्यसेन्जरमा कुरा गर्दा–गर्दै सम्पर्कविहीन भयो । अहिले फोन पनि लाग्दैन । कम्पनीमा गएर सम्पर्क गर्दा त्यहाँ पनि छैन । केगरी खोज्ने अन्यौलमा परेको छु ।” म्यासेन्जरमा बोल्दा–बोल्दै भाइ सम्पर्कविहीन भएपछि मलेसियास्थित नेपाली राजदूतावास र भाइ कार्यरत कम्पनीलाई खोजिगरी दिन आग्रह गरिएको हिमालले बताए।
“सम्पर्कविहीन भएको भोलिपल्टै राजदूतावास पुगेर आवश्यक कागजातसहित निवेदन दिएका थियौँ । अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । भाइको म्यासेज हेर्दा षड्यन्त्रगरी उनको हत्या गरेको हुन सक्ने देखिन्छ !”, उनले भने, “नेपाली दूतावासले चासो दिएको छैन । जुन अवस्थामा भए पनि मलाई भाइ चाहियो ।” हरिप्रसाद सम्पर्कविहीन भएको जानकारी प्राप्त भएलगत्तै मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको नेपालस्थित मेनपावर कम्पनीका प्रतिनिधि निरज दाहालले जानकारी दिए ।
“हरिप्रसाद कम्पनी छाडेर भागेको देखिन्छ । कम्पनीमै भएको खण्डमा कम्पनी सञ्चालकलाई भनेर केही गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “कम्पनी छाडेर भाग्नु हरिप्रसादको गल्ती देखिन्छ । अहिले म त्यो मेनपावर कम्पनीमा काम गर्दिन । यद्यपि, ममार्फत गएको हुनाले मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छु ।”
काठमाडौँमा रहेर वैदेशिक रोजगारसम्बन्धी एजेन्टको काम गर्दै आएका निरजमार्फत हरिप्रसादसँगै खोटाङस्थित खार्मीका छ युवा मलेसिया गएका थिए । एजेन्टलाई रु दुई लाख ५० हजार धरौटी बुझाएर मलेसिया पुग्नुभएका हरिप्रसाद सम्पर्कविहीन भएपछि घरपरिवार चिन्तित भएका छन् ।
















सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलकाे नेता बनाउने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया