स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा । स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत हालसम्म २७ वटा रिचार्ज पोखरी निर्माण सम्पन्न भएका छन्। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ देखि सुरु गरेको यस अभियानलाई डिभिजन वन कार्यालय स्याङ्जाले निरन्तरता दिँदै आएको हो।
डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत अम्मरबहादुर पराजुलीका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ मा ३ वटा, २०८०/८१ मा १२, २०७९/८० मा ८ र २०७८/७९ मा ४ वटा रिचार्ज पोखरी निर्माण गरिएको छ।
‘पोखरी निर्माणबाट पानीका स्रोत जोगिनुका साथै वन्यजन्तुलाई सुरक्षित रूपमा पानी उपलब्ध हुने भएकाले अभियान प्रभावकारी हुँदै गएको छ,’ वन अधिकृत पराजुलीले भने।
उनका अनुसार खोला–खोल्सीका मुहानहरू सुकेपछि वनको बीच तथा माथिल्लो क्षेत्रमा पोखरी निर्माण गर्दा तल्लो तटीय क्षेत्रमा पानीका मूल पुनः जीवन्त हुने, वन्यजन्तु गाउँतिर प्रवेश गर्न नपर्ने, पशुपालन र सिँचाइमा समेत सहयोग पुग्ने देखिएको छ।
वन क्षेत्रको सौन्दर्य बढाउनुका साथै बहुउपयोगी पोखरी निर्माणले वन संरक्षण र स्रोत व्यवस्थापनमा ठोस योगदान पुर्याइरहेको छ।
फेदीखोला गाउँपालिका–४ स्थित कुचेको मुहान सामुदायिक वनका पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष उमाकान्त सुवेदीले वनमा बनाइएका पोखरीबाट पशुपालन, सिँचाइ र स्रोत संरक्षणमा प्रत्यक्ष लाभ मिलेको बताए।
‘पोखरी तलतिरका पानीका मुहानहरू बचाइराख्न सजिलो भएको छ, वन्यजन्तु पनि त्यही पोखरीको पानी खान आउँछन्,’ सुवेदीले भने, ‘वनको दृश्य पनि अब आकर्षक देखिन थालेको छ।’
डिभिजन वन कार्यालय स्याङ्जाले प्रत्येक पोखरी निर्माणका लागि १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। पोखरीमा आवश्यक अनुसार पक्की पर्खाल निर्माण र प्राकृतिक स्वरूप जोगाउने विधि अपनाइएको वन कार्यालयले जनाएको छ।















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया