ससाना विषयमा पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

गण्डकी। परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले ससाना विषयमा पार्टीमा झगडा गरेर समय खेर नफाल्न कांगेसका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल तरुण दल कास्कीद्वारा आज पोखरामा आयोजित ‘नेपालको परराष्ट्रनीति, जलवायु परिवर्तन एवं तरुण युवाको सरोकार विषयक संवाद कार्यक्रम’मा उहाँले आन्तरिक विवादलाई पार्टीभित्रै मिलाउनुपर्ने बताए ।
“दलमा, सङ्गठनमा झगडा हुन्छ, तर त्यसलाई त्यहीभित्र मिलाउनुपर्छ, ससाना विषयमा चित्त दुखाएर पार्टी नै छाडेर हिँड्ने, नेताहरूलाई गाली गर्ने प्रवृत्ति कांग्रेसका सदस्यहरूले त्याग्नुपर्छ”, उनले भने, “परिवारभित्र पनि झगडा हुन्छ, तर कसैले घर छोडेर त हिँड्दैन, पार्टी पनि एउटा परिवार हो, झगडा भए पनि भित्रै मिलाउनुपर्छ ।” कांग्रेसकासामु मुलुकलाई नेतृत्व गर्ने राम्रो अवसर आएको भन्दै उनले पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्नुपर्ने बताए।
साना कुरामा पार्टीमा मनमुटाव गरेर बस्न नहुने उनको भनाइ छ । मन्त्री देउवाले राजनीतिमा धैर्यता र सकारात्मक सोच चाहिने भन्दै पद र अवसर नपाए पार्टी नै छोडेर हिँड्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे। पुराना दल र तिनका नेतालाई लिएर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उहाँले नयाँपुस्ता भन्दैमा सबै राम्रो नहुने र बुढ्यौली लाग्दैमा सबै गलत नहुने बताए ।
“त्याग, बलिदान र सङ्घर्षबाट आएका पार्टीहरूलाई अवमूल्यन गर्ने, यो देश खत्तम भयो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, त्यसलाई चिर्न हामीले जनताप्रति गरेका वाचा समयमा पूरा गर्नुपर्छ”, मन्त्री देउवाले भन्नुभयो, “हाम्रा कार्यशैलीगत कमजोरी छन् भने सुधार्नु पर्छ, सुशासनमा ध्यान दिनुपर्छ ।” निजी स्वार्थ त्यागेर देश र जनताका लागि राजनीति गर्न कांग्रेसका अग्रज पुस्ताले सिकाएको उनको भनाइ छ ।
फरक प्रसङ्गमा मन्त्री देउवाले देउवाले नेपालले अन्तरराष्ट्रिय जगतमा जलवायु न्यायको विषयलाई सशक्त ढङ्गले उठाउँदै आएको बताउनुभएको छ । उनले नेपाललाई जलवायुजन्य हानिनोक्सानीसम्बन्धी अन्तरराष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने धारणा राखे। सो विषयमा हालै अन्तरराष्ट्रिय न्यायिक अदालतमासमेत नेपालका पक्षबाट आफूले आवाज उठाएको उल्लेख गर्दै मन्त्री देउवाले विकसित देशले गरिरहेको कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले भोग्नु परिरहेको बताए ।
“हामीलाई हानिनोक्सानी कोष दिनुपर्ने, बाढीपहिराले भत्केका पुल, विद्यालयजस्ता भौतिक संरचना बनाइदिनुपर्ने विषयमा जोडका साथ उठाएका छौँ”, उहाँले भन्नुभयो, “नेपालले पनि कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्छ, अहिले रहेको ४५ प्रतिशत वन क्षेत्रलाई अझ बढाउन वृक्षरोपण अभियान सञ्चालन गर्नुपर्छ ।”
उनले जलवायु परिवर्तनले ठूलो चुनौती निम्त्याएको भन्दै यसको जोखिम न्यूनीकरणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तनले पारेका असरबारे जनगुनासो धेरै आउने गरेको मन्त्री देउवाको भनाइ छ । जलवायु परिवर्तनको असरबाट आउने पिँढीलाई बचाउन वृक्षरोपण गर्नुपर्ने, प्लाष्टिकको प्रयोग कम गर्नुपर्ने, विद्युतीय गाडी तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उनले बताए।
मन्त्री देउवाले नेपाल भूराजीतिक हिसाबले संवेदनशील र रणनीतिक महत्वको भूगोलमा रहेको बताउनु । स्थिर परराष्ट्र नीतिका कारण नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता विश्वमाझ स्थापित बनेको उनको भनाइ छ । “नेपालको आफ्नै परराष्ट्र नीति छ, विश्वसमुदायमा आफ्नै पहिचान छ, यसलाई विगतदेखि नै हामीले कायम गर्दै आएका छौँ, यो हामी सबैको गौरवको विषय हो”, मन्त्री देउवाले भने, “हाम्रो कूटनीति र अन्तरराष्ट्रिय सम्बन्धका कारण विदेशी मुलुकहरूले नेपाललाई उच्च सम्मान दिने गरेका छन् ।”









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिक्रिया