शुक्रबार, मंसिर १२, २०८२

नाडा अटो शो भदौ ३ गतेदेखि सुरु हुँदै, उड्ने कार र युनिट्री रोबोट देख्न पाइने

मेरोन्यूज २०८२ साउन २० गते १६:५१

काठमाडौँ । नाडा अटो शो २०२५ भदौ ३ गतेबाट सुरु हुने भएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो हुने भएको हो ।

यो वर्षको नाडा अटो शोमा उड्ने कार र रोबोट देख्न पाइने भएको छ। चिनियाँ कम्पनी हाङझाउ युशु टेक्नोलोजी कम्पनी लिमिटेडले उत्पादन गरेको युनिट्री रोबोट नाडामा प्रदर्शनीका लागि राखिने छ।

युनिट्री ’नाडा अटो शो २०२५’ को टाइटल स्पोस्सरसमेत रहेको छ। हाङझाउ युशु टेक्नोलोजी कम्पनी लिमिटेडले युनिट्री रोबोटको ट्रेडमार्क बनाएर यही नाममा रोबोट म्यान र रोबोट डग उत्पादन गरिरहेको छ। नाडा अटो शोमा रोबोट म्यान तथा रोबोट डग दुवै प्रदर्शनीमा राखिने भएको छ।

त्यस्तैगरी नाडा अटो शोमा दिपलको उड्ने कार पनि देख्न पाइने भएको छ। एमएडब्लू समूहअन्तर्गतको एमएडब्लू वृद्धि अटो कर्प प्रालिले दिपलका अत्यधुनिक विशेषतायुक्त विद्युतीय कार बिक्री गर्दै आएको छ। कम्पनीले नाडा अटो शो २०२५ को आकर्षणका रुपमा रहने उड्ने कार शोकेसमा राख्न लागेको हो।

शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्नेछन् । ‘Go For More’ नारासहित आयोजना हुने यस वर्षको अटो शो केवल नयाँ गाडी हेर्ने ठाउँ मात्र नभई नेपालमा स्मार्ट, दिगो र भविष्यमुखी मोबिलिटीको प्रतीक बन्ने विश्वास लिइएको छ।

प्रदर्शनीले ग्राहक संलग्नता, प्रविधिको प्रर्दशन र सम्पूर्ण अटोमोबाइल इकोसिस्टमलाई एउटै छानामुनि ल्याउने दाबी गरिएको छ।

शोमा १९ वटा चारपांग्रे सवारी ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, साथै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक गरी ३५ कम्पनीहरूको सहभागिता रहनेछ। यसबाहेक नाडा अटो शोमा १२५ भन्दा बढी प्रदर्शकहरू रहने र १ लाखभन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ।

३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने नाडाले जनाएको छ।

यसका साझेदार संस्थाहरुमा एमएडब्लु वृद्धि (युनिट्री) शीर्ष प्रायोजक रहनेछ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सहप्रयोजन गर्नेछ।

पावर्डबाईमा क्याम्पाकोला, मोबिलिटी पार्टनरमा यांगो, एक्सक्लुसिभ टिकेटिङ पार्टनर खल्ती बाई आईएमई (भदौ २सम्म अग्रिम टिकटमा २० प्रतिशत क्यासब्याक) र अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक रहनेछ।

त्यसैगरी सर्भिलियन्स पार्टनरमा सीसीटीभी नेपाल, फायर सेफ्टी पार्टनरमा हिमालयन सेफ्टी सोलुसन्स प्रालि, हस्पिटल पार्टनरमा किस्ट हस्पिटल, हस्पिटालिटी पार्टनरमा द प्लाजा रहेको छ।

यसबाहेक डोर प्राइज नेपाल ल्युब आयल लिमिटेड रहेको छ। यसले १२ विजेतालाई एक वर्षका लागि हरेक सर्भिसमा निःशुल्क ल्युब्रिकेन्ट उपलब्ध गराउनेछ।

यसको इभेन्ट म्यानेजमेन्ट ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिस प्रालि रहेको छ।

नाडाले सुविधा र सुरक्षा सुनिश्चित गर्ने व्यवस्था समेत मिलाइसकेको जनाएको छ। यसअनुसार चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवाका लागि सुविधाजनक जोन विभाजन गरिएको छ।

खल्ती एपमार्फत नै अग्रिम टिकट खरिद गर्न र प्रिबुकिङ गर्न सकिने व्यवस्था गरिएको छ। सञ्चारकर्मीहरुलाई समन्वयको लागि मिडिया डेस्क, महानगरीय ट्राफिक प्रहरी साझेदारीमा ट्राफिक सूचना डेस्क, आपत्कालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, आगो नियन्त्रणको व्यवस्था पनि गरिएको नाडाले जनाएकाे छ।

यसपटकको शोमा विन्टेज मोटर शो विशेष आकर्षणको रुपमा रहनेछ। जसमा ऐतिहासिक सवारीको प्रदर्शन गरिनेछ। जसमा मोरिस माइनर, फियाट, पुज्यो, बिटल, मिनि कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा आरटी४०, फक्सवागन बस, टोयोटा कोरोला, माज्दा फेमिलिया र टोयोटा एमआर२ सहभागी हुनेछन्।

१६ संस्करणसम्म आइपुगेको नाडा अटो शोले आफैँलाई तथ्य, निरन्तरता र विश्वासको आधारमा ‘नेपालको अटो उद्योगको सबैभन्दा ठूलो मञ्च’का रूपमा स्थापित गरिसकेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष तथा नाडा अटो शो २०२५ का सभापति करण चौधरीले बताए । उनले भने, “विभिन्न अग्रणी ब्रान्डहरूको सहभागिता र लाखौँ दर्शकहरूको समर्थनले यसलाई थप मजबुत बनाएको छ।”

नाडा अटो शो २०२५ केवल प्रदर्शनी मात्र नभई, एक अनुभव भएको उनको भनाई छ । नवप्रवर्तन हेर्न चाहने उपभोक्ता, प्रविधिप्रेमी, व्यवसायी वा विश्लेषकका लागि यो अनिवार्य गन्तव्य भएको उल्लेख गर्दै उनले भने “नवप्रवर्तन अनुभव गर्नुहोस्, सम्भावनाहरू अन्वेषण गर्नुहोस्।”

प्रतिक्रिया