देवघाटलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

नवलपरासी । पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान सञ्चालन गरिएको छ । नवलपुरको गैँडाकोटस्थित ‘सहमति संस्था’सँगको सहकार्यमा देवघाट क्षेत्र विकास समितिले उक्त अभियान सञ्चालन गरेको हो ।
त्रिशूली, कालीगण्डकी र नारायणी नदीमा प्लास्टिकजन्य फोहर फालिँदा नदी प्रदूषित बन्दै गएकाले नदीलाई स्वच्छ राख्न अभियान सुरु गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए ।
देवघाट क्षेत्रभित्र प्लास्टिकलाई निरुत्साहन गर्न अभियानसँगै कपडाको झोला वितरण सुरु गरिएको छ । देवघाट स्नान गर्न आउने तीर्थालुले प्लास्टिकका झोलामा पूजा सामग्री लिएर आउने र नदीमा यसै छाड्दा यसले पर्यावरणमा असर पु¥याएकाले नदी प्रदूषण रोक्न अभियान सुरु गरिएको उनको भनाइ छ ।
नवलपुर, तनहुँ र चितवनमा पर्ने यस पवित्र तीर्थस्थलमा टाढाटाढाबाट तीर्थालु आउने गरेका भन्दै अभियानले नदीलाई सफा र हराभरा रुपमा बग्न मद्दत गर्ने कार्यकारी निर्देशक बरालले बताए । “धार्मिक क्षेत्रमा प्लास्टिक नलैजाउँ, प्लास्टिकजन्य फोहर रोकौँ भन्ने हाम्रो अभियान हो”, कार्यकारी निर्देशक बरालले भने, “तीर्थस्थलहरुको तीर्थस्थल देवघाटधामलाई स्वच्छ राख्नु हामी सबैको कर्तव्य हो ।” संसारभर विकराल बन्दै गएको प्लास्टिकजन्य फोहरलाई निरुत्सान गर्नका लागि समितिले नदी स्नान गर्न प्रवेश गर्ने स्थानमा कपडाको झोला वितरण गर्ने गरेको छ ।
“हामीले विशेष गरी साउनको सोमबारका दिन नदीको प्रवेशद्वारमा बसेर कपडाको झोला दिएर प्लास्टिकका झोलाहरु लिने गरेका छौँ, यसले प्लास्टिकका झोला नियन्त्रणमा केही सहयोग पुग्छ”, कार्यकारी निर्देशक बरालले भने, “प्लास्टिकको झोला स्थानीयले भन्दा पनि बाहिरबाट आउने तीर्थयात्रीले ल्याउने गरेकाले सबैमा सचेतना फैलाउन सके मात्रै नियन्त्रण हुन्छ ।” प्लास्टिकजन्य फोहर नियन्त्रण गर्न झोला वितरण मात्रै प्रभावकारी नहुने भन्दै उहाँले जनचेतना फैलाएर घरबाटै प्लास्टिक नबोक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
आफूहरुको अभियानलाई देवघाटसँग जोडिएका तीन वटै जिल्लाका पालिकाबाट सहयोग रहेको र उनीहरुले बजेट विनियोजन गरेको कार्यकारी निर्देशक बरालको भनाइ छ । “कालीगण्डकी, त्रिशूली र नारायणी नदी प्रदूषणमुक्त होस्, देवघाटमा निर्धक्कसँग स्नान गर्न सकियोस् भन्ने हाम्रो चाहना हो”, उनले भने, “मानव सभ्यता विकास नदी किनारबाट भएकाले नदीको संरक्षण गर्नु र प्रदूषण रहित बग्न दिनु हामी सबैको दायित्व हो ।”
अहिलेबाट नदीलाई स्वच्छ राख्दै भविष्यका पुस्ताका लागि समेत नदी संरक्षण गरिदिनुपर्ने उनले बताए। समितिले दिएको तीर्थयात्रीलाई दिएको कपडाको झोला नदीमा पूजा गरेर फर्किँदा फिर्ता गर्नुपर्ने र ती झोला अन्य तीर्थालुहरुलाई प्रयोग गर्न दिइने कार्यकारी निर्देशक बरालले बताए।
देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले नदीसँगै हामी अभियान वैशाखबाट सुरु गरिएको भए पनि अहिले साउनको सोमबार विशेष प्राथमिकता साथ सञ्चालन गरिएको बताए । सहमति संस्थासँग सहकार्य गरी थप झोला छपाउने काम भइरहेको भइरहेको उनको भनाइ छ । “घरबाटै प्लास्टिकको झोला लिएर देवघाट नजाने वातावरण बनाउन सबै क्षेत्रबाट साथ र सहयोग आवश्यक छ”, सूचना अधिकारी पौडेलले भने, “नदी हाम्रो सभ्यता हो, त्यसमाथि देवघाटधाम सम्पूर्ण हिन्दूहरुको आस्थाको केन्द्र पनि हो ।”
देवताहरु स्नान गर्न आउने देवघाटधामलाई पवित्र राख्नका लागि सम्पूर्ण भक्तजनहरु सचेत हुनुपर्ने उनले बताए । देवघाटमा प्लास्टिक मात्रै नभई कुनै पनि प्रकारको प्रदूषण नगर्न सबै सचेत हुनुपर्ने सूचना अधिकारी पौडेलको भनाइ छ । देवघाटलाई प्लास्टिकमुक्त बनाउनका लागि विभिन्न ठाउँमा सचेतनामूलक होर्डिङ बोर्डसमेत राखिएको छ ।

















कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते
शाओमीको वीरगञ्ज र जनकपुरमा आधिकारिक सर्भिस सेन्टर खुला
8 killed in pro-Iran protest at US consulate in Pakistan’s Karachi
विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था
‘Cooperation from one and all is crucial to conduct election smoothly’
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
प्रतिक्रिया