आइतबार, फागुन १७, २०८२

बैतडीका पशुमा खरी र लम्पी स्कीन संक्रमण पुनः देखियो

मेरोन्यूज २०८२ साउन २६ गते ९:२१

बैतडी । जिल्लाका पशुमा लम्पी स्कीन र खरी रोग पुनः देखा पर्न थालेको छ । सबै स्थानीय तहमा सो रोगबाट चौपाया सङ्क्रमित हुन थालेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तले जानकारी दिए। 

Advertisement
nepal life insurencenepal life insurence

खरी रोगलाई धुलखुले, चौखुरी नामले पनि चिनिन्छ । यो रोग दूधालु बधुवा भैँसीमा जाडो तथा गर्मी समयमा र बेँंसी क्षेत्रमा भन्दा पहाडी डांँडाकाँडामा बढी देखिने गरेको प्रमुख पन्तले बताए। यो रोग लागेपछि पशु दुब्लाउँदै जान्छ र उत्पादनमा ह्रास आउँछ । उनका अनुसार चौपायमा यो रोगका लागेमा – सारकोप्टिक, माइट छाला भित्रसम्म पुग्ने भएकोले अन्य भन्दा बढी कष्टदायक हुन्छन् । सरोप्टिक माइटहरुले छालाको बाहिरी भागमा आक्रमण गरी छालामा बाक्ला कत्ला बनाउँछ । प्राय: छालामा पाप्रा देखिने र त्यसपछि घाउ हुने, छाला खस्रो र सुख्खा हुने जस्ता लक्षण देखिने गर्दछ । 

यस रोगको नेपाल कृषि अनुसन्धान परिषद् पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटार ललितपुरले २०४५ सालदेखि अनुसन्धान जारी राखेको छ । तर अहिलेसम्म ठोस् रूपको उपचार पद्धति भने विकास हुन नसकेको प्रमुख पन्तले बताए।  उनले भने, “सन्तुलित आहार, गोठ र पशुको सरसफाइमा ध्यान दिन सकेमा यो रोग निको हुन जान्छ । समय समयमा भेटेरीनरी प्राविधिक तथा पशु चिकित्सकसँग सुझाव सल्लाह गरेर आवश्यक परामर्शका लागि अनुरोध छ ”।

यस्तै जिल्लामा लम्पी स्कीनको सङ्क्रमण पनि देखिन थालेको छ । लम्पी स्कीन पुरानै पशुचौपायामा देखिन थालेको प्रमुख पन्तले जानकारी दिए। लम्पी स्कीन लागेका चौपायलाई १०४ डिग्री भन्दामाथि ज्वरो आउने, शरीरमा साना–ठुला फोका निस्कने, खुट्टा, पातो र घाँटीको भाग सुन्निने, बिस्तारै घाँस खान छाड्नेजस्ता लक्षण देखा पर्ने गरेका छन् । 

सो रोग नियन्त्रणका लागि खोप आवश्यक रहेको उनले बताए। यसका साथै लम्पी स्कीन देखिएका पशुबाट नजिकैका अन्य पशुमा पनि यो रोग सर्न सक्ने भएकाले सावधानी अपनाउन जरुरी रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया