सोमबार, वैशाख १४, २०८३

लम्पी स्किनबाट चितवनमा ३० गाईगोरु मरे

मेरोन्यूज २०८२ साउन २६ गते १३:२८

चितवन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् ।

Advertisement
NiccNicc

कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका ७९३ वटा गाईगोरु, भैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ । जसमध्ये भैँसी–राँगा चार र गाईगोरु ७९३ वटा रहेका छन् । लम्पी स्किनबाट हालसम्म खैरहनी नगरपालिका बढी प्रभावित भएको उनले जानकारी दिइन्

उनका अनुसार सो पालिकामा हालसम्म ४२५ वटा पशु चौपाया प्रभावित भएका छन्भने २२ वटा मरेका छन् । रत्ननगरमा १९१ वटा पशु चौपाया प्रभावित भएका छन् । जहाँ ४ वटा गाई गोरु मरेका छन् । यस्तै राप्ती नगरपालिकामा ७५, भरतपुर महानगरपालिकामा ६२, माडी नगरपालिकामा २७ र कालिका नगरपालिकामा १३ वटा पशु चौपाया सङ्क्रमित भएका छन् । भरतपुर महानगरपालिकामा चारवटा पशु चौपाया मरेको उनले जानकारी दिइन् । उनका अनुसार रत्ननगरमा तीन र राप्तीमा एउटा भैँसी–राँगा प्रभावित भएका छन् ।

जिल्लामा लम्पी स्किन देखिन थालेपछि खोप लगाउने किसानको सङ्ख्या बढेको छ । हालसम्म ५९ हजार ९७४ वटा पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप दिई सकिएको उनले जानकारी दिइन् । गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले बताइन्। गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने,र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।

सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने मिश्रले बताइन्।

प्रतिक्रिया