आइतबार, फागुन १७, २०८२

गण्डकी प्रदेशमा आठ सय बढीमा डेङ्गु सङ्क्रमण

मेरोन्यूज २०८२ भदौ १ गते ७:५८

गण्डकी– गण्डकी प्रदेशमा गत पुस महिनायता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गु रोग देखिएको हो ।प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए ।

प्रदेशको राजधानी पोखरा गत वर्ष डेङ्गुको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६ सय जनाभन्दा बढीमा डेङ्गु सङ्क्रमण भएको थियो ।डेङ्गु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्दै जाने अनुमान छ ।

डेङ्गु न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका छन् । मनाङ जिल्लामा भने यस वर्ष अहिलेसम्म डेङ्गु देखिएको छैन ।

स्थानीय तहले डेङ्गु रोग फैलन नदिन डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।

डेङ्गु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गरेको छ ।

प्रतिक्रिया