जापानमा सामन्ती सरदारको मूर्तिको शिर छेदन

टोकियो। जापानको एक सपिङ आर्केड बाहिर १६औँ शताब्दीका शक्तिशाली सरदार तथा समुराई टोयोटोमी हिदेयोसीको मूर्तिको टाउको काटिएको घटना बुधबार सार्वजनिक भएको छ । यो जानकारी पसलका अधिकारी र मिडिया रिपोर्टमार्फत प्राप्त भएको हो ।
टोयोटोमी हिदेयोसीले १६औँ शताब्दीमा जापानको एकीकरण गरेका थिए । उनी कोरियाली प्रायद्वीपमा गरेका असफल आक्रमणका कारण पनि परिचित छन् ।
नागोयास्थित एन्डोजी सपिङ आर्केडको सङ्घले उक्त मूर्तिलाई समुदायको प्रतीकात्मक आकृति मान्दै आएको छ । सङ्घका एक सदस्यले भने, “हामी यसबारेमा क्षतिको रिपोर्ट प्रहरीमा दर्ता गर्ने विचार गरिरहेका छौँ ।”
तर कसले र किन यो क्षति पुर्यायो भन्ने विषयमा कुनै जानकारी नभएको पनि उनले बताए ।
उक्त सपिङ आर्केड बाहिर राखिएका अन्य लडाकु मूर्तिहरू पनि विगतमा तोडफोडको शिकार भएका थिए । यी सबै मूर्ति सन् २०१३ मा एक घरजग्गा कम्पनीले दान गरेको थियो ।
सन् २०२२ मा टोयोटोमीको प्रतिद्वन्द्वी तथा टोकुगावा शोगुन शासन (इडो युग) का संस्थापक टोकुगावा इयासुको मूर्तिलाई खसालिएको थियो र त्यसमा प्वाल बनाइएको थियो । यसअघि, सन् २०१९ मा अर्का प्रसिद्ध सरदार ओडा नोबुनागाको मूर्ति हातविहीन अवस्थामा फेला परेको थियो ।
हिदेयोसी, इयासु र नोबुनागा—यी तिनै जना जापानका सबैभन्दा प्रसिद्ध सामन्ती सरदार हुन् । यिनीहरूले करिब एक सय वर्ष लामो युद्धरत राज्यहरूको कालखण्ड अन्त्य गरी जापानलाई एकताबद्ध गर्न सङ्घर्ष गरेका थिए ।
हालका वर्षहरूमा अन्य मुलुकहरूमा पनि ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू विवादको विषय बनेका छन् । विशेष गरी उपनिवेशवाद र दासत्वसँग सम्बन्धित व्यक्तिहरूका मूर्तिहरूलाई लिएर कडा बहस हुने गरेको छ ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया