बुधबार, वैशाख २३, २०८३

महाधिवेशन नेतृत्व चयन, नीति र उद्देश्य निर्धारण गर्ने थलो होः सभापति देउवा

मेरोन्यूज २०८२ भदौ १९ गते २१:४७

ललितपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन केबल नेतृत्व चयनको प्रक्रिया मात्र नभई नीति, दिशा र उद्देश्य निर्धारण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन् ।

Advertisement
NiccNicc

‘आफ्नै देशको उत्पादन हाम्रो सान, कृषिमा उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ आजदेखि काठमाडौँमा सुरु भएको नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल किसान महासङ्घको चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले १४ वर्षपछि हुन लागेको यस महाधिवेशनले नेपाली किसानमा नयाँ ऊर्जा र हौसला प्रदान गर्ने बताए ।

“म सङ्गठनलाई अझ प्रभावकारी, उत्तरदायी र किसानमैत्री बनाउन महाधिवेशन सफल होस् भन्ने कामना गर्दछु”, उनले भने, “नेपाली कांग्रेसको गौरवशाली इतिहासमा किसान आन्दोलन सधैँ प्राथमिकतामा रहिआएको छ, नेपाली कांग्रेसले समाजवादको बाटो अपनाउँदा, त्यो बाटो किसान, श्रमिक र सर्वसाधारणको उन्नति, प्रगति र मुक्तिका लागि थियो ।”

उनले नेपाली कांग्रेसको लक्ष्यप्राप्तिका लागि लोकतन्त्रवादी किसानलाई गोलबद्ध गर्दै किसानको हकहितका पक्षमा आवाज बुलन्द गर्न महासङ्घ स्थापना भएको उनको भनाइ थियो ।

“आज हामी त्यस्तो समयको मोडमा छौँ, जहाँ कृषकले विभिन्न चुनौतीको सामना गरिरहनुभएको छ, जलवायु परिवर्तन, उत्पादनको उचित मूल्य नपाउनु, सिँचाइको अभाव र कृषि अनुदान तथा सहुलियत सेवामा पहुँचको अभावजस्ता समस्याले किसान पीडित छन् । यस्तो अवस्थामा, किसान महासङ्घले यी विषयलाई नीतिगत तहमा पु¥याउनु र समाधानका लागि दबाब सिर्जना गर्नु अत्यन्त आवश्यक छ”, उनले भने । उनले कृषिमा आत्मनिर्भर हुन वास्तविक किसानले अनुदान प्राप्त हुने अवस्थाको सुनिश्चितता आवश्यक भएको उल्लेख गरे ।

उनले कृषिलाई व्यवसायीकरण गर्ने, कृषि उत्पादनमा प्रविधिको प्रयोग बढाउने, कृषकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन जरुरी रहेको बताए ।

प्रतिक्रिया