बुधबार, वैशाख २३, २०८३

समाजवाद स्थापनामा उद्योगी व्यवसायीको योगदान अपरिहार्य छ: अध्यक्ष दाहाल

मेरोन्यूज २०८२ भदौ २१ गते २१:१९

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले समाजवादको दिशामा अघि बढ्न उद्योगी तथा व्यवसायीको योगदान अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घले आज पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण तथा महासङ्घ केन्द्रीय समितिको आठौँ बैठक उद्घाटन गर्दै उहाँले समाजवाद स्थापनामा सबैले योगदान गर्नुपर्ने बताएका हुन् ।

Advertisement
NiccNicc

अध्यक्ष दाहालले भने, “हामी समाजवाद स्थापनाका लागि अघि बढेका छौँ । सुशासन, सामाजिक न्याय र समृद्धिको मार्ग हुँदै समाजवादमा पुग्ने हो । यसमा तपाई उद्योगी व्यवसायीको योगदान धेरै महत्त्वपूर्ण हुन्छ ।” अध्यक्ष दाहालले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको बताए ।

उहाँले माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा रहेको र ऋण मिनाहा, सहकारी सुधार र तल्लो वर्गको उत्थान पार्टीको प्राथमिकता भएको धारणा राखे । अध्यक्ष दाहालले पछिल्लो समय माओवादी घटक, इमानदार कम्युनिष्टबीच एकता र सहकार्य बढ्दै गएको बताए । कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासङ्घका इन्चार्ज गङ्गा कार्की, महासङ्घका अध्यक्ष खिमलाल भण्डारी तथा गण्डकी प्रदेशका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया